रेडियो मकवानपुरद्वारा जागरुक महिला सम्मान

जनपत्र
१२ भाद्र २०७६, बिहीबार १८:४१

हेटौंडा / दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा २ जनालाई जागरुक महिला सम्मान प्रदान गरेको छ । रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विहीबार तीज विशेष कार्यक्रमकाबीच रञ्जिता विक र सरिता लामालाई जनहि १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सिलाई बुनाई व्यवसाय मार्फत स्वरोजगार भएको र सिलाई बुनाई तालिम पनि प्रदान गर्दै समाजमा महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रेरित गरेको भन्दै लामालाई सम्मान गरिएको हो ।

यस्तै, सामाजिक कार्यमा योगदान दिएको भन्दै विकलाई सम्मान गरिएको हो । प्रमुख अतिथि संविधानसभा सदस्य एवम् कांग्रेस नेतृ आरजु देउवा राणा, दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीना, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीलगायतले सम्मान प्रदान गरेका थिए । सम्मानसँगै तीज विशेष सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश सभाका सदस्य सन्तराम चेपाङ्, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । रेडियो मकवानपुरले तीज भव्य रुपमा मनाउनुका साथै कार्यक्रममा सहभागि महिलाहरुलाई दर समेत खुवाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*