प्रदेश ३ समितिको कामप्रति सांसद नै असन्तुष्ट

जनपत्र
११ भाद्र २०७६, बुधबार १९:३४

हेटौंडा / प्रदेशसभाको समितिको कामबाट सांसदहरु नै असन्तुष्ट रहेको पाइएको छ । सामुदायिक रेडियो प्रशारक संघ अकोरावले बुधबार हेटौंडामा आयोजना गरेको सुशासन र जवाफदेहिताका लागि संसदीय भूमिका विषय अन्तरक्रिया कार्यक्रममा सहभागि सांसदहरुले प्रदेशसभाका समितिको कामबारे असन्तुष्टि जनाएका हुन् ।

कार्यक्रममा प्रदेश तीनका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल र सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले आफ्नो समितिले गरेको कामको बारेमा जानकारी गराएका थिए । सांसद रमेश पौडेलले प्रदेशसभाको समितिहरुले प्रभावकारी काम गर्न नसकेको बताए । सरकारलाई पारदर्शि र जवाफदेहि बनाउन केही कामहरु गरेको भए पनि समितिका काम प्रभावकारी नभएको बताए ।

यस्तै, सांसद निमा लामाले सोचे अनुरुप काम हुन नसकेको भन्दै प्रदेशको भूमिका प्रभावकारी हुन नसकेको तर्क गरे । कार्यशैली परम्परागत भएको भन्दै उनले यसमा सुधार जरुरी रहेको औंल्याए । सांसद रिता माझीले सरकारलाई पर्याप्त सुझाव र निर्देशनहरु समितिले दिन नसकेको भन्दै समितिलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए ।

सार्वजनिक लेखा समितिका सभापति श्रेष्ठले राजधानी अस्थायी भएकोले समितिको काम प्रभावकारी नभएको बताए । प्रदेश सभाको बैठक आह्वान गरेको समयमा मात्रै समितिको बैठक बस्ने गरेको भन्दै उनले सांसदहरुको पनि जिम्मेवारी नदेखिएको बताए । यस्तै, अर्थ तथा विकास समिति सभापति नेपालले कानून निर्माण दु्रत नहुँदा समिति र प्रदेश सरकारको काम प्रभावकारी नदेखिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*