प्रचण्डका अंगरक्षक हेटौंडाका चौलागाईंले पार्टी छोडेर रोजेको फूलखेती, वर्षैपिच्छे मनग्य आम्दानी

जनपत्र
२५ कार्तिक २०८०, शनिबार ०९:११

हेटौँडा / बन्दुकको नालबाट सत्ता जन्माउन सशस्त्र युद्धमा होमिएका लडाकुले सुन्दर फूल फूलाऊलान् भन्ने अपेक्षा कसैको थिएन । सशस्त्र विद्रोहको समयमा कमाण्डर बनेर गोला, बारुद, बम र बन्दुकसँग खेलेका हातहरू यतिबेला फूलखेतीमा व्यस्त छन् ।

हेटौँडा–६ का बालकृष्ण चौलागाईं (विकल) र हेटौँडा–१२ का ललितकुमार घलानको फूलखेतीले हेटौँडालाई नै रङ्गीन बनाएकाे छ । १२ वर्ष बन्दुक बोकेर समाज परिवर्तन गर्न हिँडेका चौलागाईं कुनै बेला माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अंगरक्षक थिए । तिनै चौलागाईं साधारण सदस्यसमेत नरहने गरी माओवादी पार्टी छाेडेर अहिले फूलखेतीमा रमाएका छन् । फूलखेती गर्नुअघि चौलागाईं माओवादी केन्द्रकै सिफारिसमा तत्कालीन जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष पनि बनेका थिए ।

घलान भने फूलखेतीसँगै दलीय राजनीतिमा पनि सक्रिय छन् । घलान हाल जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसमेत हुन् । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाको अध्यक्ष जितेका घलानलाई छोटो समयमै समन्वय समितिको प्रमुख बन्ने अवसर जुटेको थियो । हेटौँडा उपमहानगरपालिकाको वडा अध्यक्ष छोडेर उनी जिल्लाका १० स्थानीय तह हेर्ने समन्वय समितिको प्रमुख बनेका थिए । विशेषगरी दसैँ, तिहारजस्ता चाडपर्वको समयमा चौलागाईं र घलानको फुर्सद निकाल्न मुस्किल छ ।

सयपत्री र मखमलीका मालाको अडर लिने र तयारी गर्ने काममा उनीहरूलाई भ्याइनभ्याइ भएको छ । पदमपोखरी र चौघडाका स्थानीयले पनि घलान र चौलागाईंको नक्कल गर्दै फूलखेती गर्न थालेका छन् । पछिल्ला वर्षमा मकवानपुरमा व्यावसायिक फूलखेती हुने क्रम बढ्दै गएको छ । मकवानपुरमा २० देखि २५ जना व्यावसायिक फूलखेती गर्ने किसान रहेको जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका घलानले जानकारी दिए ।

घलानले १ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आएका छन् । विगत ५ वर्षदेखि फूलखेती गर्दै आएका घलानको मुख्य आयस्रोत फूलखेती हो । जिल्ला समन्वय समितिमा दिनभर काम गरे पनि उनी बिहान बेलुकी फूलखेतीमा ध्यान दिन्छन् ।

हेटौँडा–६ का कृषक चौलागाईंले विगत ६ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् । सयपत्री फूल फूलेपछि वरिपरिको सौन्दर्यसमेत बढेको छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको चौलागाईं बताउँछन । चौलागाईंले यो तिहारमा २० हजार माला बजार लैजाने तयारी गरेको बताए । उनले बिरुवा उत्पादन गरेर स्थानीय किसानलाई बेच्ने गरेका छन् ।

हेटौँडामा रहेका गौतम नर्सरी, जोशी नर्सरी, विकास नर्सरी, पौडेल नर्सरीलगायतले बाहिरबाट फूलको बिरुवा ल्याएर गमलामा रोप्न चाहनेहरूलाई उपलब्ध गराउँदै आएका थिए । तर, अहिले चौलागाईं र घलानले आफ्नै नर्सरीमा उत्पादन गरेका बिरुवा बेच्दै आइरहेका छन् । कलकत्ते भेराइटीका सयपत्री फूलका बिरुवा बाहिरबाट आयात गर्ने क्रम रोकिएको छ । हेटौँडासहित मकवानपुरका अधिकांश स्थानीय तहमा कुनै बेला भारतबाट आयातित कृत्रिम फूलका मालाको भरमा तिहार पर्व मनाउने गरिन्थ्यो । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*