खुवा उत्पादनले बदलिएको हेटौंडाको चुच्चेखोलाको पहिचान

जनपत्र
२५ कार्तिक २०८०, शनिबार ०९:०६

हेटौँडा / कान्तिराजपथ हुँदै हेटौँडा–काठमाडौँ आउजाउ गर्दा हेटौँडा बजार नजिकै पर्छ हेटौँडा–६, चुच्चेखोला।

चुच्चेखोलाको पर्यायवाची नाम हो खुवा र खुवाको परिकार। बाटोमै मगमग बास्ना आउनेगरी पाकिरहेको तातो खुवाले यो बाटो हुँदै यात्रा गर्ने धेरैको ध्यान तान्छ।

त्यसैले त चुच्चेखोला बजार पुगेपछि प्रायः सवारी रोकिन्छन् र कोसेलीस्वरुप खुवा लिएर जान्छन्।

चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिना अहिले ६५ वर्षका भए।

२०/२२ वर्षको उमेरमा काभ्रेबाट हेटौँडा आएर चौघडा चोकमा खुवा पसल खोलेका उनको खुवा घोटेरै केश पाक्यो, हातका छाला चाउरिए। यद्यपि, उनको खुवा पसलको लोकप्रियता उस्तै छ।

खुवा बेचेरै मनग्य आम्दानी गर्दै आएका उनलाई पहिले खुवा बनाउने दूध जुटाउनै मुस्किल थियो। सुरुआती अवस्थामा आफैँले भैंसी किनेर दूध उत्पादन गर्दै खुवा बनाउन सुरु गरेका कृष्णप्रसादको मेहेनतले अहिले चौघडा चोकलाई नै खुवा चोकको नामले चिनाइरहेको छ।

‘मैले २०३६ सालदेखि खुवा घोट्न सुरु गरेको हो। अहिलेसम्म पनि त्यही काम गरेर बुढो भएँ,’ उनी भन्छन्, ‘यहाँ पसल राख्दा दूध नभएर एउटा भैंसी किनेर पाल्न दिएँ। दूध राखेर पसलसम्म ल्याउनका लागि एउटा क्यान पनि किनिदिएँ। अनि, त्यही दूधबाट खुवा बनाउन थालेँ। पहिला दूध किन्नका लागि डेरी पनि थिएनन्। पछिपछि डेरी खुल्न थालेपछि चाहिँ सजिलो भएको छ।’

२०३६ सालमा हेटौँडामै पहिलोपटक खुवा बनाउन सुरु गरेका उनको पेसालाई अन्य छिमेकीले पनि पछ्याउन थाले। जसले गर्दा सिङ्गो गाउँ नै खुवा बेचेर आत्मनिर्भर बनिरहेको छ।

खुवा बनाएरै परिवार पालिएको अनुभव सुनाउँदै दुई छोराले पनि यही पेसा अंगालेको बताउँछिन् कृष्ण प्रसादकी श्रीमती लक्ष्मी तिमल्सिना।

६२ वर्ष टेकेकी लक्ष्मी भन्छिन्, ‘हामीले यो ठाउँमा खुवा घोट्न थालेको ४ दशक हुन लाग्यो। खुवा घोटेरै चारवटा छोराछोरी हुर्काइयो, पठाइयो।

उनी थप्छिन्, ‘अहिले दुई छोरा पनि खुवा घोट्ने नै काम गर्छन्। एउटा छोरा र छोरी भने मास्टर भएका छन्।’

उनका अनुसार परिवार नै मिलेर दिनमा ३० देखि ४० किलोसम्म खुवा घोट्ने गरेका छन्। यहाँ उत्पादन भएको खुवा हेटौँडामा मात्रै सीमित हुँदैन, अन्य जिल्लाका मिठाई पसलमा समेत पुग्छन्।

खुवा उत्पादनमा पुराना पुस्ताको सफलता देखेर यहाँका नयाँ पुस्ता पनि यस पेसाप्रति आकर्षित भएका छन्।

उत्पादित खुवा बिक्रीबाटै घरखर्च चल्ने देखेपछि आफूहरूले पनि अघिल्लो वर्षदेखि खुवा घोट्न सुरु गरेको बताउँछन् स्थानीय २० वर्षीया विकेश बिडारी।

बिडारी भन्छन्, ‘राम्रै आम्दानी हुने रहेछ भन्ने थाहा पाएपछि हामी दाजुभाइ मिलेर अघिल्लो वर्षदेखि खुवा बनाउन थालेका हौँ। ठीकै कमाइ भइरहेको छ। खुवा पाइने ठाउँ भनी चिनिएको भएर पनि होला चाडपर्वको समयमा त बनाएरै भ्याइँदैन। अब तिहारमा पनि खुवा खपत हुन्छ।’

यहाँ झण्डै दुई दर्जन परिवारले खुवा घोट्ने काम गर्छन्। गाउँमै उत्पादित दूध किनेर खुवा बनाउने यहाँका व्यवसायीलाई बेच्नको लागि कुनै समस्या छैन।

धेरै त हेटौँडा आउजाउ गर्नेले नै किन्छन् भने केही मात्रामा हेटौँडाका मिठाई पसल तथा अन्य सहरमा समेत पठाइन्छ। चारदेखि पाँच लिटर दूधमा बन्ने एक किलो खुवाको सात सय ५० रुपैयाँमा बिक्री हुने गरेको व्यवसायी बताउँछन्। खुवा बेचेर मासिक ५० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरूको अनुभव छ।  नेपाल खवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*