गोजीमा थपिँदै अर्को एउटा महत्वपूर्ण कार्ड
प्रतिनिधिसभाको मंगलबारको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित गरेसँगै तपाईँको गोजीमा छिट्टै अर्को एउटा परिचयपत्र राख्नुपर्ने भएको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद प्रेम सुवालले अहिले पनि पाँच छ वटा परिचयपत्र नेपालीहरुको खल्तीमा रहेको र राष्ट्रिय परिचय पत्र थप भएपछि त्यो राख्न अझै कतिवटा खल्ती बनाउनुपर्ने हो? भन्दै प्रश्न गर्नुभयो । एउटै परिचयपत्रमार्फत सबै काम हुनेगरी राष्ट्रिय परिचयपत्र बनाउनु पर्नेमा त्यसरी आउन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
सांसद सुवालको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रले अन्य परिचय पत्रहरुलाई बिस्तारै विस्थापित गर्दै लैजाने बताउनुभयो । नागरिकता र राहदानीलाई यसले अहिले नै विस्थापित गरिहाल्ने अवस्था नरहेको भन्दै उहाँले अन्य परिचयपत्रहरुलाई भने विस्थापित गर्ने लक्ष्यसहित नै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको बताउनुभयो ।