भारतको निशानामा अब माओवादी ?

के जम्मु काश्मीरमा धारा ३७० को अन्त्यपछि भारतका गृहमन्त्री अमित शाहको अबको निशाना मध्य र पूर्वी भारतमा सक्रिय माओवादी छापामार हुन् ? राजनीतिक तहमा यो विषयलाई लिएर अहिले बहस हुन थालेको छ ।
गृहमन्त्रालयको तथ्यांकलाई हेर्दा २०१४ देखि २०१८ सम्म जम्मु काश्मीरका आम नागरिक, सुरक्षा बलका जवान र चरमपन्थीलाई मिलाएर कूल एक हजार ३१५ जना मानिस मारिएका छन् । नक्सल प्रभावित क्षेत्रमा यो संख्या दुई हजार ५६ जना भएको बताइएको छ । यो तथ्यांक आश्चर्यलाग्दो छ । अहिले सबैको ध्यान काश्मीरको धारा ३७० निस्तेज गरिएको विषयमा गइरहेको छ । गृहमन्त्री बनेपछि अमित शाहले सोमबार पहिलो पटक यस्तो बैठक बोलाएका थिए जुन नक्सल समस्यामा केन्द्रित थियो ।
बैठकमा दश राज्यका मुख्यमन्त्री र केन्द्रीय सुरक्षा बलका महानिर्देशकलाई पनि आमन्त्रण गरिएको थियो । यद्यपि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, तेलंगनाका मुख्मन्त्री के चन्द्रशेखर राव र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस सो बैठकमा सहभागी थिएनन् । उनीहरुको स्थानमा सम्बद्ध राज्यका प्रहरी महानिर्देशक बैठकमा सामेल भएका थिए ।