मकवानपुर गोर्खामा विलय भएको दिन

रिपेश दाहाल
१० भाद्र २०७६, मंगलवार ०६:३२

हेटोंडा / भदौ ९ , नेपाल एकीकरणको सुरुवात भएको दिन मकवानपुर र गोर्खा सेना बिच भयङ्कर लडाई भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन । २५७ वर्ष पहिला यही दिन गोर्खाली सेनाले समृद्ध र विशाल भएर पनि बाँडफाड र अंशवण्डामा अल्झिएको मकवानपुरलाई परास्त गरी विशाल नेपाल निर्माणको सुरुवात गरेको थियो ।

पृथ्वी नारायण शाहले नेपाल एकीकरणको योजना बनाएर युद्धहरु लडेपछि स्वतन्त्र र ठुलो राज्य कब्जा गरेर नेपाल एकीकरणको वास्तविक सुरुवात गरेको दिन थियो भदौ ९ । पृथ्वीनारायणले यस अघि कान्तीपुर मातहतको नुवाकोट , पाटन अन्तर्गतको पाल्टा तथा मकवानपुरका इपा ,कुलेखानी आदि क्षेत्रहरु कब्जा गरेर गोर्खा राज्यमा मिलाएको भएपनि स्वतन्त्र राज्य भने पहिलो पटक १८१९ भाद्र ९ गते मकवानपुरलाई जितेका हुन ।

नेपाल एकीकरण जायज थियो र आवश्यक पनि थियो भनेर मानिसकेपछि आजको दिनपनि नेपाल एकीकरणको स्वर्ण दिनको रुपमा मान्नुपर्ने र मनाइनुपर्ने इतिहासका खोजकर्ता केदार न्यौपाने बताउनुहुन्छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार यो लडाई गोर्खाले नजितेको भए नेपाल एकीकरण हुने सम्भावना टर्न सक्थ्यो । त्यसो हुँदा आजको नेपालको स्वतन्त्र अस्तित्व समेत नहुने सम्भावना प्रवल हुन्थ्यो । त्यसैले भदौ ९ गते नेपालको इतिहासको महत्वपूर्ण दिन हो ।

प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेखेका एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।
पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा प¥यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट र्पुयाउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए ।

उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानि हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ । पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो । नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन ।

त्यसमा पनि पृथ्वीनारायण र दिगबन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ मा शुरप्रताप शाहको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गार्खाली सेनाले मकवानपुरमाथि आक्रमण ग¥यो ।

इतिहासका जानकार न्यौपानेका अनुसार मकवानपुरका राजा दिगबन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए । कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो तापनि मकवानपुरे सेनाले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै मकवानपुरले लडाइँ हा¥यो । लडाइँ हारिने डरले राजा दिगबन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए ।

आठ घण्टाको संघर्षपछि मकवानपुरमा गोर्खाले कब्जा जमायो । काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतिक महत्वको स्थान रहेकाले उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले आक्रमण गरेको थियो । विसं १८१९ भदौ ९ गते मकवानपुर पृथ्वीनारायणको अधिकारमा आएको थियो । विसं १८१९ असोजसम्ममा मकवानपुरका अरू ससाना स्वशासित क्षेत्र पनि पृथ्वीनारायणको कब्जामा आयो ।

मकवानपुरगढी

मकवानपुरगढी मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले बि.सं १००० मा निर्माण गरेको भनिएपनि यथेष्ठ प्रमाण पुग्दैन । तर पुरातत्व विभागका तत्कालिन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं सताव्दीमा मकवानपुर शक्तिसाली सेन राज्य बनीसकेको थियो भनेर लेखेको छ । कतिपय इतिहासकारहरुका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गम स्थल मकवानपुर नै हो ।

पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार बि.सं. १५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुवात गरेका हुन । मुकुन्द सेन तिनै खाम सेनका पनाती हुन । खाम सेनका छोरा चन्द्र सेन , चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलमा उल्लेख छ ।

तर मकवानपुरको अध्ययन गर्न २०२७ सालमा पुरातत्व विभागका अभिलेख बिषेशज्ञ साफल्य अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तु स्थिती , शिलालेख , ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ । प्रतिवेदनले एक प्राचिन वंशावलीलाई उदृत गर्दै तुला सेन पछि यस गढीमा दलभञ्जन सेन , गजपति सेन , चन्द्र सेन , रुद्र सेन राजा भएको उल्लेख गरेको छ । जुन माथि उल्लेख गरिएको पाल्पाली वंशलतामा मेल त खान्छ तर केही नाममा फरक र तिथि मितिमा एक रुपता नहुँदा अधिकांश इतिहासकारहरुको मत बाझिएकोले ठोस र आधिकारिक धारणा निर्माण हुन सकेको छैन ।

अधिकांश इतिहासकारहरुको मतैक्यता भने मुकुन्द सेनले राजकाज त्यागि सन्याँस धारण गर्नेक्रममा विशाल सेन राज्यलाई आफ्ना चार भाई छोराहरु र दुईभाई नातीहरुलाई बाँडीदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्नगयो । बि.सं. १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भए ।
लोहाङ सेन अत्यन्तै प्रभावशाली राजा भएको बताइन्छ ।

यिनी युवराज छदै बि.सं. १६०३ मा नेपालको बारा , पर्सा , देखि मारुहाङ्गको राज्य अर्थात मोरङ सम्म बिजय प्राप्त गरेका थिए । पहाडमा दुधकोशी सम्म कब्जा जमाउन भ्याएका लोहाङ सेनले बिना लडाई बिजयपुर समेत विशाल सेन राज्यमा विलय गराउन सफल भएको इतिहासकारहरु बताउछन् । यिनले विशाल मकवानपुरको शक्तिशाली प्रथम राजा भएर पुर्वी तराई तथा भित्री मधेशको नेतृत्व गरे । हाल देखिएको मकवानपुर गढीको दरवार यिनैले बनाउन लगाएको इतिहासविद्हरुको भनाई छ । मकवानपुरगढी भने यिनीले राज्य सम्हाल्नु भन्दा झण्डै ६ सय वर्ष पूर्व नै यिनका पुर्खा तुला सेनले निर्माण गराएको उल्लेख भइसकेको छ । लोहाङ सेनको मृत्युपछि बि.सं. १६४२ मा यिनका छोरा राघव सेनले मकवानपुरको राजकाज सम्हालेको पाइन्छ । राघव सेनलाई कतै राधा सेन समेत उल्लेख गरिएको छ ।

कलिलो उमेरमा राजा बनेका राघव सेनले झण्डै ७६ वर्ष मकवानपुरको साशन गरेको पाइन्छ । पछि हरिहर सेनले सासन गरे यिनै राजा हरिहर सेनले सिन्धलीको हरिहरपुर गढी निर्माण गर्न लगाएको उल्लेख छ । तर कही कतै सिम्रौन गढका राजा हरिसिंह मुलिस्लम आक्रमणबाट आफ्नो राज्यच्युत भएर भाग्ने क्रममा हरिहरपुर गढी बनाई बसेको उल्लेख गरिएको छ । यिनी प्रतापी राजा भएको उल्लेख गरिएको छ । मकवानपुरलाई थप एकीकरण गरेर अझ विशाल बनाउने काम गरेका हरिहर सेनले आफूलाई हिन्दुपति घोषित गरेका थिए । उनका ६ वटी रानीहरु थिए । उनले भारतीय महाराजकी छोरीसंग समेत विवाह गरेका थिए भने आफ्नो एक छोरीको विवाह कान्तीपुरका राजा प्रताप मल्ललाई दिएका थिए ।

अर्थात हरिहर सेन प्रताप मल्लका ससुरा थिए । उनका उत्तराधिकारीका रुपमा क्षत्रपति इन्द्र सेनको जन्म भएको थियो । तर एउटा छोरा विभाता इन्द्र सेनकोे जन्म भएपछि युवराजको मृत्यु भयो र युवराजको मृत्यु पछि हरिहर सेनले नवयुवराजलाई युवराज घोषणा गर्नुपर्नेमा त्यसो नगरी चौथी श्रीमती रानी महादेवी तर्फका छोरा सुभ सेनलाई आफ्नो उत्तराधिकारी घोषणा गरिदिए । जसको नतिजा विशाल मकवानपुर राज्य दुई टुक्रमा विभक्त भयो ।

राजा हरिहर सेनको मृत्यु पछि बिं.सं. १७४१ मा मकवानपुरमा सुभ सेन राजा भए । आफ्नो राजाको जेठो छोरो राजा हुने राज परम्परा अनुसार जेठो छोरोको मृत्यु भएको अवस्थामा उसको छोरो राजा हुनुपर्नेमा त्यसो गरिएन राजा हरिहर सेनले अर्को छोरो सुभ सेनलाई युवराज घोषणा गरेका थिए । यसको कारण कतिपय इतिहासकाहरु बाबु छोरा बिचको झगडालाई मान्छन् । इतिहासकारहरुका अनुसार राजा हरिहर सेनको उनका जेठा छोरा छत्रपति इन्द्र सेनसंग खटपट थियो र यसैबिचमा छत्रपति इन्द्र सेनको मृत्यु भएको थियो ।

सुभ सेन राजा घोषित भएपछि छत्रपति इन्द्र सेनका छोरा अर्थात हरिहर सेनका नाती विधाता इन्द्र सेन रिसाएर मकवानपुरलाई दुइभगमा अलग्याए । उनले कोशी पारीको मकवानपुर राज्य कब्जा गरेर अर्को स्वतन्त्र बिजयपुर राज्य स्थापना गरे । सुभ सेनले पनि कान्तीपुरको सहयोगमा विजयपुर विरुद्ध युद्ध त गरे तर किराँतीहरुको साथ सहयोग पाएका विधाता इन्द्र सेनलाई पराजित गर्न सकेनन् यद्यपी उनले मोरङका कतिपय गाउँहरु मकवानपुरमा मिलायन सके । आफ्नो साशनकालमा राज्य टुक्रीय पनि यिनले थुप्रै समथर भुभागलाई मकवानपुरमा मिलाउन सकेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

पछि भतिजा विधातासंग सम्बन्ध सुमधुर हुँदै गएपछि भने मकवानपुर र विजयपुर राज्यको सिमाना गंगा नदीको किनार सम्म पुगेको पाइन्छ । डाक्टर राजाराम सुवेदीका अनुसार सिमा विवाद मिलाउन भन्दै झुक्याएर मुसलमानी सेनाले गंगा मैदानबाट कब्जा गरेर दिल्ली पु¥याए । डाक्टर सुवेदीका अनुसार दुबै राजालाई छलफलका लागि भनेर बोलाउने अनि पक्राउ गरेर मकवानपुर र विजयपुरमाथि आक्रमण गर्ने लखनउका राजा इस्फोरिया नवावको योजना अनुसार राजाहरुलाई नियन्त्रणमा लिइएको थियो । तर नवावको योजना सफल हुन सकेन दुबै सेन राजा नियन्त्रण बाट उम्कन सफल भए ।

केही इतिहासकारहरु दुबै राजाहरुलाई विदेशीले झुक्याएर पक्राउ गरेपछि राजा विधाता इन्द्र सेनकी रानी राजेश्वरीले दुबै देशको सयुक्त साशन सञ्चालन गरेकी थिइन उनलाई किराँती तथा कान्तीपुरेहरुको समेत साथ थियो । विजयपुरका राजासंगै पक्रउ परेका मन्त्री फुत्केर भागी आउनाले मुसलमानीहरुको योजना थाहा पाइ रानी राजेश्वरीले लखनउका राजा स्फोरिया नवावका फौज विरुद्ध लड्न किराँती फौज , मकवानपुरे फौज तथ विजयपुरका फौजहरु तथा मोरङ्गे लडाकुहरुलाई पुर्णिया पठाई अपहरित राजालाई छुटाई ल्याएको समेत बताउछन् ।

डाक्टर सुबेदीले प्रकाशन गर्नुभएको एक पुस्तकको मकवानपुर राज्य नामक भागमा दुबै राजाहरु सम्झौता गरेर छुटेको उल्लेख छ । उहाँका अनुसार दुबै राजा दिल्लीमा बि.सं.१७६३ देखि १७७४ सम्म ११ वर्ष सम्म कैद भएका थिए भने यता सो अवधीमा रानी राजेश्वरीले मकवानपुर र विजयपुरमा संयुक्त रुपमा नायवी साशन सञ्चालन गरेकी थिइन् । उनले सुभ सेनका दुई छोराहरु महिपति सेन र माणिक सेनलाई विजयपुर र मकवानपुरको राजा बनाएको उल्लेख छ । सुभ सेन पछि मकवानपुरको नयाँ राजामा माणिक सेन घोषित भए । उनी बाबु सुभ सेन जिवित छदै राजा भएका थिए भने भाउजु राजेश्वरीको नायवी साशन थियो त्यसैले नायवी पछि १७७४ देखि भने यिनी सर्वेसर्वा भए । कहीँ कतै सुभ सेनले थप ३१ वर्ष साशन सञ्चालन गरेको भनिएपनि त्यस्को यथेष्ठ प्रमाण पुग्दैन ।

माणिक सेन राजा सुभ सेनका कान्छा छोरा थिए तर बिजयपुरका राजा विधाताइन्द्र सेनको सन्तान नभएकाले जेठा दाई बिजयपुरको राजा भएपछि माणिक सेनले मकवानपुरको राजा हुने अवसर पाएका थिए । माणिक पछि मकवानपुरको गद्धीमा हेमकर्ण सेन बसे । बि.सं. १७९० साल मा गद्धी सम्हालेका २६ वर्ष सम्म मकवानपुरको राजा भएका हेमकर्ण सेनको पालामा मकवानपुर फेरी टुक्रियो उनका भाई जगत सेनले चौदण्डीलाई अलग राज्य घोषणा गरी त्यहाँको राजा भए ।

राजा हेमकर्णले कान्तीपुरको अधिनमा रहेको सिन्धुली गढीलाई भनेआफ्नो कब्जामा पर्न सफल भए । यिनै राजाकी छोरी इन्द्रकुमारी सेनसंग गोरखाका युवराज पृथ्वी नारायण शाहको वि.सं. १७९४ मा विवाह भएको थियो । वि.सं. १८१६ मा हेमकर्ण सेनको मृत्युपछि मकवानपुरको गद्धीमा उनका जेठा छोरा दिग्बन्धन सेन बसे । उनी राजा भएको २ वर्ष नपुग्दै पृथ्वी नारायणको आक्रमणमा राज्यच्युत भएर गोर्खामा नजरबन्दमा अन्तिम श्वास फेर्न विवश भए । राससबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*