निर्माण क्षेत्रको माग निराशाजनक

जनपत्र
९ कार्तिक २०८०, बिहीबार १६:५४

काठमाडौं । धादिङको ताल्तीमा रहेको हृवासिन नारायणी सिमेन्टको दैनिक उत्पादन ७०० टनमा झरेको छ । दैनिक ३ हजार टन सिमेन्ट बिक्री गर्ने यो उद्योग अहिले नोक्सानीमा चलिरहेको छ ।

काठमाडौं र काँठ क्षेत्रमा बढिरहेको तीव्र शहरीकरणका कारण सिमेन्टको माग उच्च हुनुपर्ने थियो । तर, स्थापना भएको छोटो समयमै सिमेन्ट उद्योग नोक्सानीमा पुगेको छ ।

उद्योगका उप-महाप्रबन्धक डिल्लीराज पोख्रेल अहिलेको उद्योगको अवस्थालाई निर्माण क्षेत्रको मन्दी र मागको निराशाको अन्तिम बिन्दु मान्छन् । ‘पछिल्लो एक वर्षदेखि भोग्दै आएको यो निराशा झनै बढ्दै बढ्दै गएको छ’ पोख्रेल भन्छन्, ‘निर्माणको गतिविधि बढ्ने गरी बजारमा उत्साह नै देखिएन ।’

पोख्रेलका अनुसार अहिले बजारको दैनिक खपत दोब्बरले बढेर पनि उद्योग नाफामा पुग्ने अवस्था देखिएको छैन । ‘अहिलेको खपत दैनिक ७०० टन छ । दोब्बरले बढे पनि १५०० पुग्ला । यसले पनि उद्योग बाँच्दैन’, पोख्रेलले अनलाइनखबरसँग भने ।

क्लिंकर, सिमेन्ट, छड जस्ता निर्माणमूलक क्षेत्रमा सौरभ समूहले ठूलो लगानी गरेको छ । ग्रुपका अध्यक्ष विष्णु न्यौपाने अहिलेको समग्र निर्माण क्षेत्रको बजारलाई मन्दीको चपेटाको रूपमा व्याख्या गर्छन् । ‘निर्माण क्षेत्रको समग्र चक्र नै बिथोलिएको छ’ उनी भन्छन्, ‘सिमेन्ट बिक्री नहुँदा क्लिंकर उत्पादन ठप्प भएको छ । सिमेन्टको बिक्री नहुनु भनेको निर्माण नहुनु हो । यसले छड, फलाम, इँटा लगायत सबै क्षेत्र ठप्प छ ।’

नेपाल उद्योग परिसंघका अनुसार समग्र निर्माणमूलक उद्योगको बजार अहिले ३५ प्रतिशतमा सीमित छ । परिसंघका अध्यक्ष एवम् सिमेन्ट उद्योगी राजेश अग्रवालका अनुसार यसले उद्योगहरू नियमित दायित्व समेत नधान्ने अवस्थामा पुगेका छन् ।

अहिलेको बजारको अवस्थाले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको भौतिक निर्माण स्थगनको अवस्थामा रहेको भन्दै अग्रवाल भन्छन्, ‘झण्डै एक वर्षदेखिको यो समस्या जति लम्बिंदै जान्छ उति धेरै मुलुकको अर्थतन्त्र कमजोर बन्दै जान्छ ।’

अध्यक्ष अग्रवालका अनुसार निर्माण क्षेत्रको मन्दीले श्रमिकदेखि बैंकसम्म चपेटामा परेका छन् । यसको असर खाद्यान्न बजारदेखि मानिसको भान्सासम्म परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*