दशैमा हेटौंडा बजार सुनसान, मकवानपुरका गाउँमा चहलपहल

हेटौंडा । दशैमा हेटौंडा बजार सुनसान बन्न थालेको छ । हेटौंडा बजारको मुख्य चोकहरुमा पनि हिजो अस्तीका दिनहरुमा जस्तो चहलपहल छैन । धेरै पसलहरु बन्द छन् । गाडीको चाप पनि निकै कम छ हेटौंडा बजारमा । लामो दुरीका सवारीका साधन धेरै चलेका छन् । तर, छोटो दुरीका सवारीका साधनहरु आज कमै मात्र चलेका छन् ।
हिजो फुलपातीको दिन अगाडीको तुलनामा आज हेटौंडा बजार सुनसान जस्तै भएको हेटौंडाको मेनरोडमा फुलफूल बिक्री गर्दै आउनु भएका स्याम महतो बताउनुहुन्छ । हेटौंडा बजार सुनसान हुँदै जाँदा मकवानपुरका गाउँमा भने निकै चहलपहल बढेको छ । गाउँमा लिङ्गे पिङ खेल्ने, कामको शिलशिलामा शहर पसेकाहरु पनि गाउँ फर्कने भएका कारण निकै चहलपहल बढेको हो ।
दशैं मनाउन मानिसहरु गाउँ फर्किएपछि शहरमा सुनसान भएको छ । शहर बजारमा मानिसहरुको चहलपहल न्यून हुँदै जाँदा गाउँघरमा भने मानिसहरु भरिदैछन् । हेटौंडाको बजार क्षेत्र र भित्री सडकहरुमा समेत बजारहरु सुनसान भएका छन् ।
सवारी र मानिसहरुको चहलपहल शहरमा बजारमा कम हुँदै भइरहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो दिनहरुमा जिल्लामा भित्र्निेहरुको संख्या भन्दा यहाँबाट दशैं मनाउन गाउँ फर्किनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।
व्यापार व्यवसाय गरेर शहरमा बस्ने दशैं तिहारमा गाउँमा जाने गरेकाले प्रायः शहर बजारहरु सुनसान हुनेको हो । सोही कारणले अहिले गाउँघरमा मानिसहरुको पहलपहल बढेको हो । मकवानपुरका दश वटै स्थानीय तहका गाउँटोलमा भने निकै चहलपहल बढेको छ ।
मानिसहरु गाउँघरमा जाँदा बजारहरु प्रायः खाली जस्तै देखिएका र अधिंकास पसलहरु बन्द रहेको मकवानपुर प्रहरीले जनाएको छ । दशैं मनाउन घर गएकाहरु दशैंको पर्सीपल्ट मात्र कार्यक्षेत्रमा फर्किने गरेका छन् । त्यसपछि मात्र शहर बजारमा फेरी क्रमश मानिसहरुको चहलपहल बढ्ने गर्दछ । खासगरी कोजाग्रत पूर्णिमापछि दशैं सकिने भएकाले त्यसपछि मात्र बढी चहलपहल हुन्छ ।