‘दिदीभन्दा थोरै दक्षिणा पाउँदा बाँडौं भन्थें, त्यसलाई जोगाएर कापी-कलम किन्थें’

दशैं आएसँगै सबैतिर उमंग छाएको छ । गायिका रचना रिमाललाई पनि भित्रैदेखि मन रमाएको महसुस भइरहेको छ । आखिर धेरैलाई जस्तै उनलाई पनि सबैभन्दा मनपर्ने चाडमा पर्छ, दशैं ।
दशैं भन्नासाथ रातोटीका र जमरा रचनाको स्मृतिमा आउँछ । साथमा आँखैअगाडि आउँछन्, लहलह झुलेका धानका बाला, खुलेको मौसम आदि दृश्यहरू पनि । परिवार र आफन्तसँग जमघट हुन पाउँदाको खुशी र रमाइलो त छुट्टै छ ।
नयाँ पुस्ताकी चर्चित गायिका रचनाले गत वर्ष टीकाकै दिन युगाण्डामा कार्यक्रम गरेकी थिइन् ।
यस वर्ष दशैंको अवसर पारेर साउथ अफ्रिकामा कार्यक्रम गर्दैछिन् । अष्टमीको दिन हुने उक्त कार्यक्रम सकेर दशैंको दिन टीका थाप्न भने उनी घर झापा पुगिसकेकी हुनेछिन् ।
‘यसपटक टीकाको दिन कार्यक्रम गर्दिनँ भनेर नै नलिएकी हुँ । घरमा टीका लगाउने, मामाघर जाने, परिवारसँग अलि धेरै समय बिताउने योजना छ,’ उनले सुनाइन् ।
रेकर्डिङ र स्टेज कार्यक्रमको दौडधुपमा रचनाले परिवारका लागि शपिङ गर्न भ्याइनन् । त्यसैले परिवारका सबै सदस्यका लागि शपिङ गरिदिन भनेर ममीलाई आग्रह गरिन् र खर्च पठाइन् ।
उनले भनिन्, ‘ठ्याक्कै यति–उति त नभनौं । तर, दशैं राम्रोसँग मनाउन पुग्नेगरी खर्च पठाएकी छु ।’
सांगीतिक कार्यक्रमका लागि रचनाले नयाँ–नयाँ लुगा किनिरहेकी हुन्छिन् । सोहीकारण अहिले आफ्नो लागि दशैंमा लुगा किन्नुपर्छ भन्ने दिमागमा नआउने उनी बताउँछिन् ।
‘अहिले परिवारसँगको भेट, ठूलाबडाको आशिष नै ठूलो कुरा लाग्छ,’ उनी भन्छिन् ।
दशैं आउँदा उमंग छाउने भएपनि अहिले भन्दा बाल्यकालमा दशैं आउँदाको खुशी छुट्टै हुने गरेको स्मरण रचनाले गरिन् ।
उनले आफ्नो बाल्यकालको दशैं अनुभव यसरी सेयर गरिन्, जुन उनकै शब्दमा प्रस्तुत गरिएको छ ।
‘सम्झँदा पनि कति आनन्द लाग्छ’
दशैंको सम्झना गर्दा बाल्यकाल दिमागमा आउँछ । त्यतिबेला दशैं आउँदा नयाँ लुगा र दक्षिणामा बढी चासो हुन्थ्यो । ममीले प्रायः जामा किनिदिनुहुन्थ्यो । जामा लगाएर छिमेकी घर(घरमा देखाउन दौडिन्थेँ । साथीहरूका दुईरतीनवटा नयाँ लुगा देखेपछि भने आरिस लाग्थ्यो । कहिलेकाहीँ अलि अगाडि किनिदिएको लुगा दशैंमा लगाउनुभन्दा एकदमै चित्त दुख्थ्यो ।
अनि प्रायः सधैं एउटै लुगा किनिदिँदा पनि अलि नराम्रो लाग्थ्यो । मलाई चाहिँ अरूहरूले पाइन्ट, टिसर्ट लगाएको मन पर्थ्यो । तर, त्यसबेला हाम्रो परिवारको आर्थिक अवस्था त्यस्तै थियो । फेरि बच्चा उमेरमा बुझाई पनि त हुँदैन । अहिले त्यतिबेलाजस्तो गाह्रो छैन । तर, पहिलेको कुरा सम्झँदा त्यही बाल्यकालकै दशैं प्रिय लागिदिन्छ ।
बिहानै उठेर लिङ्गे पिङ खेल्न दौडिथ्यौं
त्यसबेला बिहानै उठेर लिङ्गे पिङ खेल्न दौडिथ्यौं । बिहानै जाँदा पनि अरू केटाकेटीहरूको भीड भइसकेको हुन्थ्यो । पालो कुरेर पिङ खेल्थ्यौं । ती दिनहरू सम्झँदा पनि कति रमाइलो लाग्छ ।
धेरैजना दशैंमा आफ्नो घरमा टीका लगाएर मामाघर जाने गर्छन् । हामीचाहिँ प्रायः दुई–तिन दिन अगाडिदेखि नै मामाघरमा हुन्थ्यौं । मामाघरमा हजुरआमा, हजुरबुवासहित धेरै जना भेला हुने भएकाले पहिले त्यहाँ टीका लगाएपछि मात्रै घरमा आउँथ्यौं ।
दशैंमा स्कूल बिदा लामो हुने भएकाले होमवर्क पनि धेरै दिनुहुन्थ्यो । तर, मैले प्रायः स्कूलमै होमवर्क सकिसकेको हुन्थेँ । स्कूलमा नसकेमा घरमा आएर बिदाको शुरूआतकै दिनमा सक्थेँ ।
स्कूलमा एकदमै पढ्ने विद्यार्थी भएकाले मलाई होमवर्कलाई लिएर धेरै चिन्ता हुँदैनथ्यो ।
गाउँतिर साँझको समयमा मन्दिरमा भजनकीर्तन र नाचगान हुन्थ्यो । त्यहाँ पनि पुगेर नाच्ने, गाउने गरिरहेको हुन्थेँ । त्यसमा पनि एकदमै रमाइलो हुन्थ्यो ।
दक्षिणाले कपी–पेन्सिल किन्थें
अहिले दक्षिणामा मतलब नलागे पनि बाल्यकालमा एकदमै महत्त्व लाग्थ्यो । दक्षिणा सानो–ठूलो व्यक्तिअनुसार फरक–फरक हुन्थ्यो । तर, मलाई दक्षिणा सबैलाई बराबर हुनुपर्छ भन्ने लाग्थ्यो । दिदीले धेरै दक्षिणा पाउँदा ‘तेरो धेरै भयो बराबर गरौं’ भनेर झगडा गर्थेँ ।
दशैंमा पाएको दक्षिणा खर्च भने म जथाभावी गर्दिनथें । दक्षिणा जम्मा गरेर राख्थेँ र पछि कपी–पेन्सिल किन्थेँ । अनि हाम्रो आफ्नो दाइ–भाइ हुनुहुन्न । काकाको छोराहरूलाई भाइटीकाका लागि त्यही दशैंको पैसाले लुगा किनिदिन्थ्यौं ।
आफैं कमाउन थालेपछिको दशैं
कक्षा १० मा पढ्दासम्म एकदमै गाह्रो थियो । दशैं आउँदा उमंग त हुने तर खर्च धेरै हुने हुँदा शायद बुवाआमालाई छुट्टै तनाव पनि हुन्थ्यो ।
जब, म सांगीतिक क्षेत्रमा लागेर केही कमाउन थालें । त्यसपछि भने धेरै सहज भएको छ ।
शायद ३ वर्षअगाडिको दशैं हुनुपर्छ, त्यसबेला आफ्नो पैसाले परिवारका लागि पहिलोपटक शपिङ गरेकी थिएँ ।
त्यतिबेला आफूलाई मनैदेखि एकदमै खुशी लागेको थियो । दशैं आउँदा त एक प्रकाशको छुट्टै (भाइब्स) आउँछ नै तर, समग्रमा स्मरण गर्दा बाल्यकालकै दशैं स्मरणीय लाग्दोरहेछ । लोकन्तर डटकमबाट साधार ।