चितवनको पोल्ट्री क्षेत्र तहसनहस बन्दै

चितवन । देशमा पोल्ट्रीजन्य उत्पादनको कुनै बेला ६० प्रतिशत माग धान्ने चितवनको पोल्ट्री क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको छ । व्यवसायीहरुका अनुसार ६० प्रतिशतसम्म योगदान दिएको यो क्षेत्र अहिले खुम्चिएर २० प्रतिशतमा झरेको छ ।
विदेशबाट फर्किएका युवा र स्वदेशमै बसेर व्यवसायी बन्न चाहने युवाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी गर्ने भएकाले यसतर्फ युवाहरूको आकर्षण पनि राम्रो थियो । गाउँ-गाउँसम्म पनि कुखुरा पाल्ने चलन निकै फस्टाएको थियो । चितवन घुम्दा धेरैजसो सबैजसो घरहरुमा देखिने कुखुरा पाल्ने खोरहरू हिजोआज खासै देखिँदैनन् । भएका खोरहरु पनि कुखुराविनाका खाली देखिन्छन् ।
चितवनमा ठूला व्यावसायले पोल्ट्रीजन्य पदार्थहरूको उत्पादन गर्थे । साना तथा मध्यम व्यावसायीहरुले कुखुरा पाल्थे । अहिले साना व्यवसायीहरु सबैजसो पलायन भैसकेका छन् । मध्यम व्यावसायी र ठूला व्यावसायी पनि कठिन अवस्थाबाट गुजि्ररहेका छन् । नेपाल पोल्ट्री व्यावसायी महासंघका अनुसार ५-१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यावसायीहरूले व्यवसाय बन्द गरिसकेका छन् ।
व्यावसायीहरु भन्छन्- यस्तै अवस्था रहीरहे चितवनको पोल्ट्री क्षेत्रको सान सौकत इतिहासमा सीमित हुनेछ । जसरी चितवनबाट पायडल रिक्सा, साइकल र गाडा हराए, त्यसरी नै पोल्ट्री क्षेत्रको सान हराउँदै गएको महसुस व्यवसायीलाई हुन थालेको छ ।
चितवनलाई मात्रै नभई देशलाई नै कुखुराको मासु र अण्डामा आत्मनिर्भरको बाटो देखाएका यहाँका व्यावसायी कोरोना कहर र त्यसपछिको सरकारी गलत नीतिको शिकार भएको गुनासो पोख्छन् ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले व्यावसाय बचाउन बैंकसँग ऋण माग्दासमेत नपाइएको गुनासो गर्छन् । उनका अनुसार बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु व्याज पनि तिर्न नसक्ने अवस्थामा छन् । ‘हामी त पोल्ट्रीलाई देशमा आत्मनिर्भर बनाएर कम्तीमा पनि पोल्ट्रीजन्य उत्पादन अरु देशको नखाएर देशकै खान पाउने बनाउँदै थियौं, तर सरकारले दुःखमा साथ दिएन,’ महासंघका अध्यक्ष विष्ट भन्छन्, ‘कच्चा पदार्थ र औषधि बाहेक अन्य कुरा त हामीले देश भित्र नै उत्पादन गरिरहेका थियौं । नयाँ प्रविधिहरू पनि भिर्याएकै थियौं, विविधिकरण गर्दै थियौं तर अहिले हालत निकै खराब भएर गयो ।’
भरतपुर क्षेत्रमा तीव्र रुपमा बढेको सहरीकरण, भारतीय मासु तथा चल्लाहरू निर्वाध रुपमा भित्रिने, दानाको कच्चा पदार्थमा मूल्यवृद्धि, बैंकहरूले बढाएको ब्याजदर र लागत अनुसारको मूल्य पाउन नसक्दा व्यावसायी धरासयी बनेका हुन् ।