हेटौंडा अस्पतालमा डायलासिस उपचारमा तीव्रता

जनपत्र
२ कार्तिक २०८०, बिहीबार १७:५०

मकवानपुर । मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मिर्गाैला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।

मधेस प्रदेशको सिराहा, बारा, पर्सा र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी कुल ६३ मिर्गाैला पीडित बिरामीले दैनिक डायलासिस गरिरहेका युनिटका इञ्चार्ज सीमा कँडेलले बताउनुभयो । उहाँका अनुसार सबै बिरामीलाई निः शुल्क सेवा दिइएको छ ।

अस्पतालको डायलासिस युनिटमा हाल १४ मेसिन रहेका जनाउँदै कँडेलले त्यसमध्ये १२ मेसिन नियमित सञ्चालनमा रहेका बताउनुभयो । एउटा मेसिन आकस्मिक बिरामी भई आउनेका लागि छुट्याइएको उहाँको भनाइ थियो । एउटा बिग्रिएकाले केही दिनभित्रै मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब हेटौँडाले डायलासिस मेसिन खरिद गरी उपलब्ध गराउँदै आएको थियो । मिर्गाैला बिरामीले सम्बन्धित विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि हप्ताको दुई पटक अनिवार्यरुपमा डायलासिस गराउनुपर्ने परामर्श दिने गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँका मिर्गाैला विशेषज्ञ डा.महेशराज सिग्देलले जानकारी दिनुभयो ।

डायलासिस सेवा लिने बिरामीलाई सम्बन्धित स्थानीय निकायको सिफारिसका आधारमा सङ्घीय सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत विपन्न नागरिक उपचार सेवा महाशाखाले डायलासिस सेवालाई निः शुल्क प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालमा आकस्मिकरुपमा डायलासिस सेवा लिने बिरामीसँग दुई हजार पाँच सय लिने गरेको जनाउँदै स्वास्थ्य बिमा कार्ड भएका बिरामीलाई निः शुल्क सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी राजिव झाले उल्लेख गर्नुभयो । बागमती प्रदेशअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले पाँच वटा डायलासिस मेसिन अस्पताललाई उपलब्ध गराएको अस्पतालका मेसु डा.रामचन्द्र सापकोटाले बताउनुभयो ।

पछिल्लो समय मिर्गाैलाका बिरामीको चाप बढेकाले आगामी डेढ महिनाभित्रै अर्को पूर्वाधार तयार गरेपछि उक्त मेसिन सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । केही महिनाअघिसम्म हेटौँडास्थित चुरेहिल अस्पतालबाट डायलासिस सेवा सञ्चालन गरिएकामा हाल त्यहाँका बिरामीलाई हेटौँडा अस्पतालमा स्थानान्तरण गरिएको मेसु सापकोटाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*