काठमाण्डौमा आज हिजो भन्दा चिसो, जोमसोमको न्यूनतम तापक्रम माइनस १ मा झर्याे

काठमाण्डौ – जाडोयाम शुरु भएसँगै तापक्रम लगातार घट्न थालेको छ । काठमाण्डौसहित देशभरको न्यूनतम र अधिकतम तापक्रम घटिरहेको छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान १२ दशमलव ६ डिग्री सेल्सियस थियो ।
यस्तै, अधिकतम तापक्रम पनि २५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पाँच दिनअघि मनसुन बाहिरिनु भन्दा अघि काठमाण्डौको अधिकतम तापक्रम २८ देखि २९ डिग्री सेल्सियस थियो । आज जोमसोमको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहे पनि बादल भने लाग्ने मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि बादल लाग्ने सम्भावना छ । मौसमविद्का अनुसार आज हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात र पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।