शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ?
काठमाडौं — आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी प्रेमीका रुकु भनिने अस्मिता कार्कीले प्रहरी बयानका क्रममा आफूलाई शालिकरामले बारम्बार दुःख दिने गरेको बताएकी छिन् । उनले झण्डै एक वर्ष यता आफूहरुको सम्बन्ध सुरु भएको तर आत्महत्याको सात वा आठ दिन पहिले मात्र आफूले शालिकराम विवाहित रहेको सत्य थाह पाएको बताएकी छिन् ।
उनले भनेकी छिन, ‘विवाहित भएको थाह पाएपछि तिमीले मलाई फसायौं भनी गाली गरेँ। मेरो पिछा गर्न छाडिदेउ भनेँ। तर, निजले बारम्बार फोन गरि, बाटो छेकी दुःख र हैरानी दिइराखे।’ बारम्बारको यस्तो हैरानी पछि अस्मिताले सो कुरा न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामीछाने, पत्रकार युवराज कँडेललाई भनेमा उनीहरुले शालिकरामलाई सम्झाएर आफ्नो पिछा गर्न छुटाईदेलान भन्ने अपेक्षा राखेको बताएकी छिन्।
- आत्महत्याको चार/पाँच दिन पहिले न्युज २४ टिभीका क्यामेरामेन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटी रवि लामिछाने समेतलाई सो कुराको जानकारी गराइ दिनु भनी म र मृतक शालिकराम पुडासैनीबीच भएका म्यासेजहरुका केही स्क्रिनसटहरु समेत निज ढुंगेललाई दिएको थिएँ।
- भेटपछि न्युज २४ को कार्यालयअघि उभिएको फोटो खिची शालिकरामलाई पठाएको थिएँ।
- मैले भेटेको र मैले राखेको कुराबारे क्यामेरामेन अनिलले रवि र युवराजलाई पनि जानकारी गराएको भनेर मलाई भनेका थिए। मसँगको भेटको कुरा आफूले शालिकरामलाई पनि भनेको भनेर अनिलले मलाई भनेका थिए।
- शालिक र मबीच भएका म्यासेजका स्क्रिनसटहरु मैले शालिकका नजिकका तीन जना साथीहरुलाई पनि पठाएका थिएँ। त्यस लगत्तै शालिकले मलाई बारम्बार फोन गरे तर, मैले त्यति वास्ता गरिनँ।
- साउन २० गते राति साढे १२ बजेतिर क्यामेरामेन अनिलले मलाई फोन गरी शालिकसँग भएका म्यासेजहरु डिलिट नर्गनु भनेका थिए।इकान्तिपुरबाट ।







