दसैँ सुरु भएपनि हेटौंडा बजारका पसलहरुमा रौनकता देखिएन

हेटौंडा / नेपालीहरूको महान पर्व दसैँ सुरु भैसकेको छ। दसैँ सुरु भएपनि बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा बजारमा दसैँको रौनकता भने देखिएको छैन।
दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्न आउने मानिसहरूको भीड लाग्ने गर्छ। पहिले पहिले मकवानपुरका अधिकांश मानिसहरुले किनमेल गर्ने हेटौंडा बजार क्षेत्रका व्यवसायीहरुलाई दसैँताका व्यापारको चटारो हुने गर्थ्यो। तर यो वर्ष दसैँ सुरु हुँदा पनि आर्थिक मन्दीको प्रभावले बजार सुस्ताएको छ। व्यसायीहरु उपभोक्ताको बाटो हेर्दै दिन कटाइरहेका छन्।
पहिले/पहिले सोह्र श्राद्ध मध्य भएदेखि नै दसैँ सुरु भएको भान हुन्थ्यो। मानिसहरु दसैँका लागि आवश्यक पर्ने लत्ता कपडा देखि रासन सामग्रीको जोहोमा लाग्थे। दसैँ लाग्नु अघि नै व्यापारको चहलपहल सुरु भइसक्ने हेटौंडाको राप्तीरोड, बुद्धचोक, खोपेगल्ली लगाएतका बजारहरु यसपाली भने अझै पनि सुनसान छ।
बजारमा थोरै चहलपहल देखिन थालेपनि व्यापार व्यवसाय भने न्यून छ। गतवर्षको तुलनामा लगभग ५० प्रतिशत भिडभाड तथा व्यापार कम भएको हेटौंडा २ कान्तिराजपथमा रहेको सतार कपडा पसलका सञ्चालक महमद सम्सुदिन बताउँछन्।
‘अघिल्लो वर्ष यो भन्दा बढी व्यापार भएको थियो। तर यो वर्ष चाडपर्व लागेजस्तो महशुस नै भएको छैन,’ उनले थपे, ‘दिनभर हातखाली नबसी कपडा बेच्नुपर्ने सिजन सुरु भएको छ। तर पसलमा व्यापार अरु बेलाको जस्तै सुस्ताएको छ।’
सामान्यतया दसैँमा नयाँ कपडा किन्ने प्रचलन अनुसार कपडा व्यवसायीहरुलाई यो समय भ्याइनभ्याइ हुनुपर्ने हो। तर दिनभर पसलमा ग्राहक कुरेरै बस्नुपरेको सम्सुदिनको भनाइ छ।
यता, पसलमा आउने ग्राहकहरुले सामानको भाउ सोध्ने तर नकिन्ने समस्या बढेको व्यवसायी रामेश्वर श्रेष्ठ बताउँछन्। विगत ४० वर्षदेखि हेटौंडाको बुद्धचोकमा फ्रिज, टीभी लगाएतका इलेक्ट्रोनिक सामानको व्यवसाय गर्दै आएका श्रेष्ठ यसरी चाडपर्वको समयमा व्यापार ठप्प हुनु आर्थिक मन्दी कै कारण भएको ठान्छन्।
कोरोना माहामारीपछि व्यापार खस्किएको बताउँदै उनले भने,‘अहिले यो समयमा त हामीलाई भ्याइनभ्याइ हुनुपर्ने त हो नि। के गर्नु, मान्छेहरुसँग पैसै छैन। जो आउँछन्, यो फ्रिज कतिमा आउँछ? भनेर सोध्छन्। दाम भनेपछि जिब्रो टोक्दै पसलबाट निस्किहाल्छन्।’
दसैँका बेला बाटोमा हिँड्न समेत नमिल्ने गरी भीडभाड हुने हेटौंडाका फुटपाथहरुमा यो वर्ष सुनसान जस्तै छ। पसलहरुमा व्यापारको चहलपहल देखिएको छैन भने उपभोक्ताहरु कहाँ सामान सस्तो पाइएला भन्ने खोजीमा भौँतारिएका छन्। आर्थिक मन्दीले थलिएका सर्वसाधारणहरुका लागि पैसा सस्तिएको तर सामानको भाउ आकाशिएको हेटौंडा ८ कानेबाट किनमेल गर्न बजार आएकी भगवती अर्याल गुनासो गर्छिन्।
‘जुन सामानको भाउ सोधे पनि छोइसक्नु छैन। खल्तिमा २० हजार बोकेर बजार आ’को। सोचेको सामानमा आधा सामान पनि किन्न पाएको छैन, पैसा सकिसक्यो,’ उनले भनिन्।
विगतका वर्षको कोरोनाकालमा समेत राम्रो व्यापार भएको बताउने व्यापारीहरु कोरोनाको प्रभाव हराउँदा पनि आर्थिक मन्दीका कारण व्यापार न्यून भएको कारणबारे अनविज्ञ छन्। विकास निर्माणका काम नहुँदा काम गरेर खाने वर्ग बेरोजगार भएकोले दशैँको मुखमा व्यवसायमा नकारात्मक असर देखिएको हेटौंडा बजार क्षेत्रका व्यापारीहरुको बुझाई छ। नेपाल खवरबाट ।