नयाँ बसपार्कमा घर जाने यात्रुको भिड

जनपत्र
२८ आश्विन २०८०, आईतवार १०:४२

काठमाण्डाै – घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ ।

आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताउनुभयो ।

यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*