चितवनमा आज बिहानदेखि पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने

जनपत्र
९ भाद्र २०७६, सोमबार ०६:२२

जिल्ला प्रशासन कार्यालय, चितवनले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागु हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्‍नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट अशान्ति हुन सक्ने देखिएको’ उल्लेख छ ।

आदेशमा भनिएको छ “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।” आदेशमा वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*