शालिकरामको भिडियो काटकुट नभएको ल्याबको रिपोर्ट

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बरामद भएको भिडियो क्लीपमाथि कुनै काटकुट वा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्ट दिएको खुलेको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले प्रयोगशालाको रिपोर्टबारे औपचारिकरुपमा बोलेको हो ।
अनुसन्धानलाई सघाउन चितवन पुगेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीका अनुसार, ३२ साउनमा काठमाडौंबाट टोली चितवन पुग्दा रिपोर्ट आइसकेको थियो । ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो’, रेग्मीले अनलाइनखबरसँग भने, ‘ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ, हामीले त्यहीअनुसार अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’
उनी भिडियो कसरी बाहिरिएको थियो भन्ने विषयमा चाहिँ बोल्न चाहेनन् । ‘यो प्रशासनिक कुरा हो, छानविन हुन सक्छ’, उनी भन्छन्, ‘हामी घटनाको गाम्भीयर्ता र प्रहरी महानिरीक्षकज्यूको निर्देशनअनुसार चितवन गएका थियौं, सुरुमा हाम्रो अनुसन्धान पुडासैनीको आत्महत्या हो कि कर्तव्य ज्यान भन्ने विषयमा केन्द्रित थियो ।’ उनले पुडासैनीका साथबाट बरामद मोबाइल परीक्षणका क्रममा केही शंकास्पद सबूत फेला परेको र आत्महत्यामा कुनै दुरुत्साहन छ कि भन्ने देखिएकाले अनुसन्धान गरिएको बताए ।
अनलाईनखबरबाट