एक्सले हमाससँग सम्बन्धित खाता हटायो

काठमाडौं । इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ ।
‘आतङ्कवादी संगठनहरूलाई एक्समा कुनै स्थान छैन’ भन्दै उसले खाता बन्द गरेको हो ।
‘एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ,’ एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, ‘आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौं ।’
युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए ।