काेशीमा राप्रपा तटस्थ बस्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काेशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेकाे छ ।
आज शुक्रवरा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्ताे निर्णय गरेकाे हाे । कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् देशको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समीक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइने छ ।’
कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका इन्द्र आङ्बाे र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसकाे शेखर काेइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएकाे छ । दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ ।
संविधान र कानुनी परामर्श तथा सांसदहरूको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले बेलुकीपख दुईमध्ये एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आज शुक्रवारसम्ममा मुख्यमन्त्रीमा दाबी गर्न सक्ने गरी समयसीमा दिएकोमा हिजो बिहीवार सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षधर सांसद केदार कार्कीले दाबी पेस गर्नुभएको हाे ।
कोशी प्रदेशसभामा ९३ जना सांसद रहेकामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा दाबी गरेका दुवैले ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कारण हस्ताक्षरको आधिकारिकताका विषयमा पनि प्रश्न खडा गरेको छ ।
आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका सांसद कार्कीले कांग्रेसका आठ जना र एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ ।