दसैं नजिकियो, सुध्रिएनन् मकवानपुरका ग्रामिण सडक

हेटौंडा । नेपालीहरुको महान पर्व दशै निकै नजिकिएको छ । दशै नजिकिएसंगै आवत जावत पनि बढ्न थालेको छ । तर, मकवानपुर जिल्लाका ग्रामिण सडकहरुको हालत उस्तै छ । हनत अहिले पनि दिनहुँ पानी पर्ने गरेका कारण पनि मकवानपुरका जिल्लाका ग्रामिण क्षेत्रका कच्ची सडकहरुको अवस्था झनै दयनिय बनेको छ ।
मकवानपुरको कैलाश गाउँपालिका, राक्सिीराङ गाउँपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँवपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका भित्रका भित्री र कच्ची सडकहरुबाट ओहोर दोहोर गर्नका लागि समस्या भएको यात्रुहरु बताउँछन् ।
बिशेषगरी पक्की बनाउन नसकेका भित्री कच्ची सडकबाट अहिले पनि सवारीका साधनमा ओहोर दोहोर गर्नका लागि समस्या भएको मकवानपुरगढी गाउँपालिकाका श्याम सापकोटा बताउनुहुन्छ । भित्री सडकहरुमा बस पनि जान नमान्ने, अटोहरु पुग्ने तर, आफुले उत्पादन गरेका सामाग्री बिक्री गर्न पनि समस्या र बजारमा खरिद गरेका सामान दशैका लागि घर लैजान पनि समस्या भएको किसानहरु बताउँछन् ।
दशैका लागि भनेर साँचेर राखेको बोका, खसी, कुखुरा, गेडागुडी लगायतका सामान बजारमा बिक्री गर्न लैजानका लागि पनि समस्या भएको किसानहरुको गुनासो छ । मकवानपुरका स्थानीय तहहरुले दशैका लागि वर्षायाममा भत्कीएका सडक केही मर्मत गरेका छन् । तर, पनि धेरै सडकमा पहिरो लडेको र भत्कीएका कारण बन्द समेत छन् ।