सुरु भयो ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणाली

जनपत्र
२६ आश्विन २०८०, शुक्रबार ०६:३८

सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरुवात भएको छ । बिहीबार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आयोजित ‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतिय सेवा प्रवाह प्रणाली विस्तारु कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सेवा उद्घाटन गरेका हुन् ।

यससँगै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमति पत्रको फाराम बुझाउँदा सेवाग्राहीले बुझाउनु पर्ने राजस्व अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिनेछ । सेवा बिहीबार उद्घाटन भए पनि शुक्रबारदेखि मात्र सुरु हुने बताइएको छ ।

अनलाइन भुक्तानी प्रणाली सुरु भएसँगै सेवाग्राही कार्यालयमा लाम लाग्नुपर्ने अवस्था कम हुँदै जाने मन्त्री ज्वालाले बताए । ‘यो सुरुवात हो । सुरुवात जुन उत्साहका साथ सुरु गरेका छौं । दिगो रूपमा निरन्तरता दिनु छ । भरपर्दो र सहज ब्ननाउनु छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यातायात व्यवस्था विभाग र कार्यालयमा लाम लाग्ने क्रम कम गर्नु छ । ट्रायल दिने सेवालाई पनि लाइनविहीन बनाउनु छ । बायोमेट्रिक पनि अनलाइनबाटै हुने बनाउनुछ ।’

पहिलो चरणमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुरु भएको यो सेवा दोस्रो चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्रो चरणमा देशैभर लागू गर्ने योजना छ । यसका लागि भुक्तानी सेवाप्रदायकहरूसँग सहकार्य तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*