हेटौंडामा डाक्टरलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

हेटौंडा / अस्पतालमा डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार वसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैयाँको दरले धरौटी माग गरेको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौंडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौंडा–१० बाट पक्राउ गरेको हो ।