धर्मको राजनीतिले निम्त्याइरहेको ‘अधर्म’

विगत दुई वर्षदेखि जारी रूस-युक्रेन युद्धको पटाक्षेप नहुँदै फेरि पश्चिमएशिया अशान्त बन्न पुगेको छ । एशिया र अफ्रिकी महादेश जोडिने विन्दुको कुनातिर रहेका दुई मुलुक प्यालेस्टाइन र इजरायलबीच सुरु भएको आक्रमण र प्रत्याक्रमणको शृङ्खलाले रूस-युक्रेन युद्धले थङ्थिलो बनेको विश्व शान्ति र अर्थव्यवस्था थप जटिल बन्ने स्थिति पैदा भएको छ ।
प्यालेस्टाइनको एक सशस्त्र लडाकू समूह हमासले आकस्मिक रूपमा इजरायलमाथि गोलाबारुद गरेसँगै दुईबीच युद्ध चर्किएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार इजरायलले हमासको जवाफी हमलासँगै ‘युद्धको स्थिति’ घोषणा गरी प्यालेस्टाइनले अहिलेसम्मकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
युद्धका कारण दुवैतर्फ एक हजार बढी मानिसको ज्यान गइसकेको र १ लाख बढी मानिस गाजा शहरबाट विस्थापित भएको रिपोर्टहरूमा जनाइएको छ । अहिले युद्धमा होमिएका दुवै पक्ष आक्रोशित देखिएका छन् । उनीहरूको आक्रोश र उत्तेजित कारबाही हेर्दा त्यहाँ भौतिक र मानवीय क्षति निकै बढ्ने स्थिति देखिन्छ ।
सोही युद्धको घानमा इजरायल पुगेका नेपाली विद्यार्थीको समूह परेको छ । पछिल्लो विवरण अनुसार हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले अनाहकमा ज्यान गुमाउनु परेको छ भने अन्य केही घाइते अवस्थामा रहेको बुझिएको छ । थप विद्यार्थी बङ्करमा रहेको र उनीहरूलाई सरकारले स्वदेश फिर्ता ल्याउने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ ।