प्रदेश सञ्चार माध्यमसम्बन्धी विधेयक पारित

जनपत्र
२३ आश्विन २०८०, मंगलवार ०८:३४

हेटौँडा। बागमती प्रदेश सभाले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश मामिला समितिको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको थियो । यसअघि समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले आइतबार प्रदेश सभा बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तयार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस गर्नुभएको थियो ।

प्रदेश सभाको बैठकमा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं र नेपाली कांग्रेसका प्रदेश सभाका सदस्य मधुकुमार श्रेष्ठले विषयगत समितिको सभापतिको चयन, इजरायलमा भएको घटना, मूल्य वृद्धिलगायतका बारेमा धारणा राख्नुभएको थियो ।

प्रदेश सभाको ध्यानाकर्षण 

प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल काठमाडौँ–नागढुङ्गा–धादिङ सुरुङमार्ग निर्माणका क्रममा उत्पन्न समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सुरुङमार्ग निर्माणका क्रममा पाँचसय परिवार प्रत्यक्ष प्रभावित भएको भन्दै प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष ध्यानाकर्षण गराउन प्रस्ताव पेस गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*