हेटौंडा–धरान–चतरा सडकमा एक सय आठ पुल निर्माण

जनपत्र
२३ आश्विन २०८०, मंगलवार ०८:२०

हेटौंडा । हेटौंडा–धरान–चतरा सडकमा एक सय आठ पुल निर्माण भएका छन्। धेरै स्थानमा सडक नर्माणको काम पनि भइसकेको छ । सडक र पुल निर्माणको काम संंगसंगै लगिएको आयोजनाले जनाएको छ ।

पूर्व-पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ ।

हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी (इन्जिनियर) शिव तिमल्सिनाले जानकारी दिनुभयो । डिजाइन भएर ठेक्कामा जान बाँकी छैन । उहाँले भन्नुभयो, “आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ । डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन् ।” उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठुलो पुल कर्णालीमा रहेको छ । अधिकांश भने साना पुल रहेका थिए ।

आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढी छ । समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ । वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रूपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताउनुभयो ।

हरेक वर्ष सुरुमा विनियोजनभन्दा दोब्बर-तेब्बर खर्च भइरहेको उहाँको भनाइ थियो । सूचना अधिकारी तिमल्सिनाले भन्नुभयो, “खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन ।” टेण्डर आह्वान  गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ । बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ । बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन । गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो । दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*