हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुने

जनपत्र
२२ आश्विन २०८०, सोमबार १८:५०

मकवानपुर । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि २५ शैयाको वेड सहित उपचार हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले (आज)सोमबार पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबार २५ शैयाको मनोचिकित्सा वार्ड सहित ओपीडि सेवा सुरुवात हुने जनाएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले तीन जना डाक्टर सहितको टोलीबाट मानसिक स्वास्थ्य उपचार गरिने बताउनुभयो । उहाँले मानव सेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र सञ्चालन रहेको समेत बताउनुभयो ।

अस्पतालमा सेवा सुचारु पछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी प्रयाप्त तालिम प्रदान गरिने बताउनुभयो ।

सामूदायिक रुपमा फार्मेसी समेत सञ्चालन गर्दै स्थानीय तहमा मासिक एक दिन ओपीडि सेवा प्रदान गर्ने प्रतिष्ठानको लक्ष्य रहेको बताउनुभयो ।

हाम्रो एजेण्डा मनोरोगीको उपचार र पुर्नस्थापना सेवामा सिमित मानसिक स्वास्थ्य सेवा पद्धतिको विकासमा मात्र संकुचित छैन भन्ने छ, शेरचनले भन्नुभयो । उहाँले मानसिक स्वास्थ्य समस्याले उत्पादकत्व, सिर्जनशीलतामा नकारात्मक असर र अझ मानिसका जीवनमा शान्ति, सुख र सन्तुष्टिमा पार्ने नकरात्मक प्रभावलाई बुझ्न सकिरहेको छैनौं ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा। रामचन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*