बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा पोखरेल

हेटौंडा । वाग्मती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशनले लेखराज पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पोखरेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
हेटौंडामा शनिबार भएको अधिवेशनले परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कडेल, उपाध्यक्षहरुमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने, सूर्यप्रसाद न्यौपाने निर्वाचित भएका छन् । कार्यसमितिमा ११ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्च पनि निर्वाचित गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले निर्यातमुखी उद्योगहरु स्थापना गर्न उद्यमीहरुलाई आग्रह गरेका थिए । अब उद्योगहरु स्थापना गर्दा सानो क्षेत्रलाई हेरेरमात्र उद्योगहरु स्थापना गर्न हुँदैन, ठूलो बजारलाई लक्षित गरेर उद्योगहरु स्थापना गरेमात्र उद्यमीहरु सफल हुन सक्ने उनको तर्क थियो ।
मुख्यमन्त्री जम्कट्टेलले परिस्थिति फेरिएकाले उद्योगीहरुले पनि समयसांपेक्ष लगानी गर्नुपर्ने बताए । प्रदेश सरकारले उद्योगहरु स्थापना गर्न नीति तथा कार्यक्रममा समेटनुको साथै पूर्वाधारको निम्ति बजेट व्यवस्था गरेको उनले जनाए । कार्यक्रममा १३ जिल्लाका करिब २ सय जना उद्योगहरु सहभागी थिए ।