सबैभन्दा धेरै दूषित तीन वस्तु– पानी, तेल र दूध

बजारमा पाइने हजारौं उपभोग्य वस्तुमध्ये सबैभन्दा दूषित तीनवटा कुन–कुन होलान्?
सरकारी अध्ययनले भन्छ– सबैभन्दा धेरै उपभोग हुने खाद्यान्न नै मापदण्ड प्रतिकूल उत्पादन भइरहेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा गरेको बजार अनुगमनमा सबैभन्दा धेरै दूषित उत्पादनमा क्रमशः पानी, तेल–घिउ र दूध तथा दुग्ध पदार्थ भएको जनाएको छ।
गत वर्ष बजार अनुगमनबाट विभागले ४ हजार ८ सय १३ वटा नमुना सङ्कलन गरेको थियो। जसमध्ये १ हजार ७ सय १७ वटा नमुना विश्लेषण गर्दा १ सय २७ नमुना मापदण्डको प्रतिकूल भेटिएको थियो।
मापदण्ड प्रतिकूल भेटिएका १ सय २७ नमुनामध्ये प्रशोधित पिउने पानी ४७, तेल र घिउ २५ र दूध तथा दुग्ध पदार्थका २३ नमुना भेटिएका थिए।
त्यसपछि क्रमशः खाद्यान्न तथा दलहन सात, फल तथा सागपात सात, दाना पदार्थ सात र बाँकी अन्य खाद्य पदार्थमा मापदण्डविपरीत पाइएका थिए।
गत वर्ष बजार अनुगमनबाट विभागले ४ हजार ८ सय १३ वटा नमुना सङ्कलन गरेको थियो। जसमध्ये १ हजार ७ सय १७ वटा नमुना विश्लेषण गर्दा १ सय २७ नमुना मापदण्डको प्रतिकूल भेटिएको थियो।
बजार अनुगमन क्रममा सङ्कलन गरिएको नमुनामध्ये पानीमा सबैभन्दा धेरै मापदण्ड प्रतिकूल पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले बताए।
‘प्रतिकूल भेटिएका नमुनामध्ये सबैभन्दा धेरै पानीको छ,’ नेपालन्युजसँग महर्जनले भने, ‘४७ वटा पानीका नमुना प्रदूषित भेटिएको थियो।’
बजारमा प्रशोधित पानीको नाममा बोतल र जारमा पानी बिक्रीवितरण भइरहेका छन्। मिनरल वाटर र प्रशोधित पानी भनिए पनि ती पानीलाई मूलबाट सिधै बोतल वा जारमा भरिएको, पानी प्रशोधन राम्रोसँग नभएको, फोहर भेटिएको थियो।
विभागले गत वर्ष दायर गरेका मुद्दामध्ये सबैभन्दा धेरै उद्योगसँग सम्बन्धित छन्। विभागले गत वर्ष न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा १ सय ४८ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेकोमा सबैभन्दा धेरै प्रशोधित पिउने पानीका ३९ वटा छन्।
त्यसपछि सबैभन्दा धेरै दूषित उत्पादन हुने वस्तुमा तेल तथा घिउ परेको छ। १ सय २७ प्रतिकूल नमुनामा तेल र घिउका मात्र २५ नमुना छन्।
मुलुकमा उपभोग हुने अधिकांश तेल भारतलगायत देशबाट आयात हुन्छ। त्यस्तै, घिउ पनि केहीमात्रा मुलुकमै उत्पादन हुने भए पनि बाहिरबाट आउने गरेको छ।
बाहिरबाट आउने तेलको कच्चा पदार्थ वा तेललाई नै मुलुकभित्रका उद्योगले प्याकिङ गरेर बेच्ने गरेका छन्। ती तेलमा शुद्धता नभएको, अन्य वस्तुको मिसाइएको पाइएको छ।
विभागले दूषित र खान अयोग्य तेल उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा गत वर्ष २९ मुद्दा दायर गरेको छ।
तेस्रोमा रहेको धेरै प्रदूषित वस्तुमा दूध तथा दुग्ध पदार्थ छन्। बजारमा दर्जनौं किसिमका दूधका प्याकेट उपलब्ध छन्। ती प्याकेटका दूधमा यसअघि पनि विभिन्न किटाणु भेटिएका थिए।
त्यसैगरी, डेरीमा खुला बिक्री भइरहेका दूध र यसबाट बन्ने विभिन्न परिकार पनि दूषित भएको धेरैपटक भेटिएका छन्। यसै कारण स्वास्थ्य विज्ञहरूले राम्रोसँग उमालेरमात्र दूध पिउन सुझाव दिन्छन्।
यसबाहेक खाद्यान्न तथा दलहन, फल तथ सागपात, दाना पदार्थमा मापदण्डविपरीत नमुना भेटिएका थिए।
विभागले गत वर्ष दायर गरेका १ सय ४८ मुद्दामध्ये ४२ वटा दूषित उत्पादनसँग सम्बन्धित छन् भने ८३ मुद्दा न्यूनगुणस्तर तथा बाँकी लेबल लगायतका विवरण नमिलेका र निर्देशिका उल्लङ्घन गरेका थिए।
प्रयोगशाला एक्रेडिटेसन
विभागमा रहेको मुलुककै एकमात्र अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला ‘एक्रेडिटेसन’ अर्थात् नयाँ संस्करण आइएसओ/आइएसी १७०२५:२०१७ द्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको छ।
यही एक्रेडिटेसन भएकै कारण हालै भारतसँग खाद्य सुरक्षा तथा गुण नियन्त्रणसम्बन्धी एक समझदारीपत्र (एमओयु) भएको महर्जनले बताए।
भारतले नेपालको ल्याबलाई मान्यता दिन पहिला एक्रेडिटेसन गर्न भनिरहेको थियो। गत बुधबार काठमाडौंमा बसेको नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकले नेपालका लागि महत्वपूर्ण मानिएको खाद्य सुरक्षा तथा गुण नियन्त्रणसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
यो प्रयोगशालालाई रासायनिक, जीवनाशक विषादीको अवशेष, माइकोटक्सिन, हेभिमेटल तथा सुक्ष्म जैविक विषय गरी विभिन्न २६ खाद्यपदार्थ १ सय १ विषयमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। नेपाल न्युजबाट ।