निर्यातजन्य उद्योगले भन्सार नतिरी कच्चा पदार्थ आयात गर्नसक्ने

काठमाडौं । निर्यातजन्य उद्योगले अब भन्सार नतिरी औद्योगिक कच्चा पदार्थ आयात गर्न सक्ने भएका छन् । मन्त्रीपरिषद्बाट पारित भई संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको नयाँ भन्सार विधेयकमा त्यस्ता उद्योग नगद धरौटीमा औद्योगिक कच्चा पदार्थ आयात गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार व्यवसायीले लामो समयदेखि माग गर्दै आएको यो नियम कानूनमा नै राख्न खोजिएको हो ।
विधेयकका अनुसार अब कुनै उद्योगले आफुले गरेको उत्पादन बैंकिङ प्रणालीमार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने महसुल तोकिए बमोजिम नगद धरौटी राखी पैठारी गर्न दिइने भएको छ । यस्तो धरौटी तोकिए अनुसार निकासी गरेपछि वा विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेपछि फिर्ता हुने भएको छ । उद्योगले त्यसरी निकासी नगरेमा भने सो रकम राजस्व खातामा जम्मा हुने र १५ प्रतिशत थप रकम लाग्ने प्रावधान यो विधेयकमा समेटिएको छ ।
मुलुकको निर्यात बढाउनका लागि भन्सार ऐनले प्रस्ताव गरेको यो व्यवस्था महत्वपूर्ण हुने उद्योगी राजेश अग्रवालले बताए । तर, नगद धरौटी नभएर बैंक ग्यारेन्टीका आधारमा निर्यातजन्य उद्योगले औद्योगिक कच्चापदार्थ आयात गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए । सरकारले नेपालबाट निर्यात बढाउन चाहन्छ भने यो व्यवस्था जतिसक्दो चाँडो कार्यन्वयनमा लैजानुपर्ने उनले बताए । ‘कच्चा पदार्थ आयात गरेर भन्सार, भ्याट सबै तिर्ने, तीन महिना लगाएर वस्तु उत्पादन गर्ने र निर्यात गर्दा अनुदान दिने कार्यले हामी फसेका छौं, त्यसले हाम्रो लगानी रोकिएको छ,’ अग्रवाल भन्छन्, ‘हामीलाई प्रोत्साहन गर्ने हो भने बैंक ग्यारेण्टीकै आधारमा कच्चा पदार्थ आयात गर्न दिनुपर्छ । यो व्यवस्था व्यावहारिक रुपमै कार्यन्वयनमा आउनु पर्छ । ’