बागमती प्रदेशका १३ जिल्लामा एक करोड ५० लाख लागतमा बाल विकास केन्द्रको स्तरोन्नती गरिदै

जनपत्र
१९ आश्विन २०८०, शुक्रबार ०८:३८

हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा भइरहेका बाल विकास केन्द्रहरुको स्तरोन्नती गर्ने भएको छ । निर्देशनालयले एक करोड ५० लाख रुपैयाँ लागतमा प्रदेशका १३ वटा जिल्लामा एक–एक वटा बाल विकास केन्द्रहरुलाई नमुना मुलक रुपमा स्तरोन्नती गर्न लागेको जनाएको छ ।

स्थानीय तहसंगको सहकार्यमा प्रत्यक जिल्लामा एक–एक वटा बाल विकास केन्द्रको स्तरोन्नती गरिने शिक्षा विकास निर्देशनालय हेटौंडाले जनाएको छ । यसका लागि कार्यबिधि बनाएर मात्र काम सुरु गरिने भएको छ । अहिले सञ्चालन भइरहेका बालविकास केन्द्रहरु बालमैत्री पनि छैनन् । बालविकास केन्द्रमा हुनुपर्ने सुविधाहरु पनि छैनन् । नाम बाल विकास केन्द्र अरु कक्षाहरु जस्तै गरी सामुदायिक बिद्यालयहरुले सञ्चालन गरिरहेका छन् ।

केही निजीस्तर मा खुलेका पूर्व प्राथमिक स्कूलको भौतिक शैक्षिक पूर्वाधार सन्तोषजनक भए पनि न्यून लगानीका कारण धेरैजसो सामुदायिक बालविकास केन्द्रमा साना नानीहरू रमाउने खालको पूर्वाधार र शैक्षिक सामग्रीको अभाव छ । विकसित राष्ट्रमा सबैभन्दा बढी लगानी बालविकास मा हुन्छ ।  तर, नेपालमा भने पूर्व प्राथमिक तहमा भन्दा बढी लगानी प्राथमिक तहमा छ । बालविकास मा बजेट नपुगेका कारण शिक्षा विभागले निर्धारण गरेका बालविकास रणनीति, लक्ष्य र मापदण्ड समेत पूरा हुन नसकेको देखिन्छ । त्यसैले बालविकास मा लगानी बढाउने कुरा मा सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

बालविकास को अवधारणा अनुसार तिनलाई हुर्काउने/सिकाउने सहजकर्ता/शिक्षकहरूको पनि ठूलो अभाव छ । निम्न शैक्षिक योग्यताका सहजकर्ताको भरमा अधिकांश बालविकास केन्द्र चलेका छन् । स्नातक गरेर बालविकास सम्बन्धी तालिम लिएका व्यक्तिलाई पूर्व प्राथमिक तहको शिक्षक हुन योग्य मानिने सर्वस्वीकृत मापदण्ड भए पनि नेपालमा १० कक्षा उत्तीर्ण गरी ९० दिने तालिम लिएका व्यक्तिलाई बालविकास केन्द्रको सहयोगी कार्यकर्ता बनाउने प्रचलन छ ।

स्वदेशमै लामा–छोटा अवधिका बालविकास सम्बन्धी तालिम लिएका शिक्षकहरू पनि आफूले पाएको बाल शिक्षण सीपसँग सन्तुष्ट हुनसकेको देखिँदैन । मन्टेसरी पद्धतिको तालिम दिने आधिकारिक संस्था भारतको चेन्नईमा मात्र छ । उक्त तालिम लिन १० लाखभन्दा बढी लाग्छ । तर, नेपालमा थोरै रकममा उक्त तालिम दिने संस्थाहरू भए पनि ती तालिमको विश्वसनीयता सन्देहरहित छैन ।

तथापि बालविकास कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प छैन किनभने एउटा बालक केही समयका लागि, त्यो पनि एकपटक मात्र बालक रहन्छ । बालविकास बाट बञ्चित बालकले जीवनको जग बलियो पार्ने अवसरगुमाउँछ । अहिले फरक फरक बालविकास केन्द्रमा भिन्न पद्धतिको सिकाइमा सिकिरहेका/हुर्किरहेका बालबालिकाको भविष्य र जीवनस्तर उस्तै हुन नसक्ने लगभग पक्का छ । रराम्रो वातावरण र सिकाइ पाएका बालबालिकाको भविष्य उज्ज्वल हुन्छ भने कमजोर र दयनीय वातावरणमा हुर्केका नानीहरूको भविष्य कमजोर हुन्छ । त्यसकारण अहिले बालविकास केन्द्रमा आएका १० लाख र बालविकास को पहुँच बाहिर रहेका ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षालाई कुनै पनि बहानामा उपेक्षा र बेवास्ता गरिनुहुँदैन, किनभने भोलिको देश र समाज कस्तो हुन्छ भन्ने कुरा आजका बालबालिकाको हुर्काइ/सिकाइमा निर्भर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*