५० करोडसम्मको विदेशी लगानी स्वीकृति अब स्वचालित प्रणालीबाट

काठमाडौं । नेपालमा स्वचालित प्रणाली (अटोमेटेड रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने बाटो खुलेको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ४२ अनुसार सरकारले सहज तरिकाबाट विदेशी लगानी भित्र्याउन गरेको व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै मंगलबारदेखि यो व्यवस्था कार्यन्वयनमा आएको उद्योग विभागले जनाएको छ ।
तर, यसका लागि आवश्यक इन्टरनेटमा आधारित पूर्वाधार निर्माण भने परीक्षणकै क्रममा रहेकाले यो व्यवस्था कार्यन्वयनमा आउन अझै केही समय लाग्नेछ ।
राजपत्रमा सूचना प्रकाशित भएसँगै मानिस संलग्नताविना नै द्रूत गतिमा विदेशी लगानी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । ‘अब ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित रुपमा स्वीकृत गर्ने बाटो कानूनले खोलिदिएको छ,’ महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘अब संसारको जुन कुनै देशबाट अनलाइनबाटै आवेदन गरेर अटोमेटिक रुपमा नेपालमा लगानी स्वीकृतिको आवेदन र स्वीकृत गर्न पाइनेछ ।’