एक दिनमै १५ आत्महत्या : तीन सातामा चार कर्मचारीले गरे आत्महत्या

पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।
जनपत्र
७ भाद्र २०७६, शनिबार ०७:५०

देशमा आत्महत्याको ग्राफ बढ्दो छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेप्न नसकेर पनि विष सेवन गरेका छन् । टेकराज थामीको रिपोर्ट :

आत्महत्या गर्ने ५६ प्रतिशत युवा 
सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले आत्महत्या गरेका छन् । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । तथ्यांकअनुसार कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या ‘दुरुत्साहन’बाट हुने गरेको छ । ७५ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको छ । विष सेवनबाट आत्महत्या गर्ने दर २३ प्रतिशत छ । बाँकी एक प्रतिशत आत्महत्या भने अन्य कारणबाट हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

आत्महत्या गर्नेमा सबैभन्दा धेरै १९ देखि ४० वर्ष उमेर समूहका छन् । ५६ प्रतिशत आत्महत्या गर्ने यही उमेर समूहका रहेको प्रहरी तथ्यांक छ । ४१ देखि ५९ वर्ष उमेर समूहका दोस्रो नम्बरमा छन् । २९ प्रतिशत आत्महत्या यो उमेर समूहका व्यक्तिले गरेका छन् । १८ वर्षभन्दा कम उमेरका आठ प्रतिशत र ६१ वर्षमाथिका सात प्रतिशत छन् ।

मनोविश्लेषक वासु आचार्य भन्छन्–डिप्रेसनबारे बुझाउन जरुरी छ
सरकारी कर्मचारी नै डिप्रेसनको सिकार देखिएका छन् । यो वास्तवमै गम्भीर विषय हो । कर्मचारी नै डिप्रेसनमा जाँदा उनीहरूले दिने सेवा प्रभावित हुन्छ । यसको असर जनताले भोग्ने हो । सरकार समस्या समाधानमा लाग्नु जरुरी छ । कर्मचारीलाई मोटिभेसन हुने क्रियाकलाप गर्न जरुरी छ । डिप्रेसनबारे बुझाउन आवश्यक छ । औषधि सेवनपछि ठीक हुन्छ भनेर चेतना दिनुपर्छ । कार्यालयमा पारिवारिक माहोल बनाउनुपर्छ । सामाजिक, राजनीतिक, आर्थिक माहोल पनि सुधार्न आवश्यक छ । जब यी पक्ष बिग्रिन्छन्, तनाव सुरु हुन्छ । तनाव व्यवस्थापन नभएपछि आत्महत्या हुन्छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्–जीवनको मूल्य नदेखेपछि आत्महत्या
आत्महत्याका विविध आयाम छन् । त्यसको जड पीडा नै हो । जसले पीडा व्यवस्थापन गर्न सक्छ त्यसको जीवन सुखमय हुन्छ । जसले पीडा व्यवस्थापन गर्न सक्दैन, डिप्रेसनमा जान्छ । डिप्रेसन बढ्दै गएपछि जीवनप्रतिको मोह नै हराउँछ । उसले जीवनको कुनै मूल्य नै देख्दैन । त्यसपछि आत्महत्याको बाटो रोज्छ । पीडा सिर्जना हुनुमा विविध कारण छन् । पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक जुन पनि हुन सक्छ ।

तीन सातामा चार कर्मचारीले गरे आत्महत्या डिप्रेसन प्रमुख कारक

घटना १ : मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले बालाजु माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौँ तलाबाट हामफालेर आत्महत्या गरे । १२ साउनमा दिउँसै उनले आत्महत्या गरेका थिए । उनी बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको सरकारी जग्गा निजी बनाउने कार्यमा मुछिएका थिए । पर्वत कांग्रेस जिल्लासचिवसमेत रहेका श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा बयान लिइरहेको थियो ।

घटना २ : मालपोत कार्यालय कलंकीका तत्कालीन सुब्बा हरि आचार्य २७ साउनमा उदयपुर त्रियुगा नगरपालिका–१ स्थित रातोमाटे जंगलमा झुन्डिएको अवस्थामा फेला परे । उनी पनि भ्रष्टाचार मुद्दामा तानिएका थिए । अख्तियारले बयान लिँदै थियो । शरीर खानतलासी गर्दा साथमा भेटिएको ‘सुसाइड’ नोटमा उनले आफूलाई निर्दोष दाबी गरेका थिए । उनले आफूले कहिल्यै अनियमितता नगरेको भन्दै सुसाइड नोटमा अख्तियार प्रमुख नवीन घिमिरेलाई ‘दुई सय वर्ष बाँच्नु’ भनेर व्यंग्य गरेका थिए ।

घटना ३ : मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका बहालवाला सुब्बा बच्चुराम केसी मंगलबार कार्यालयभित्रै मृत भेटिए । उनले विष सेवन गरेका थिए । कीर्तिपुर टौदहका केसीको साथमा ‘सुसाइड’ नोट फेला परेको छ । जसमा उनले परिवारलाई सुख दिन नसकेको, चाहेजस्तो सुविधा दिन नसकेकोजस्ता बिलौना गरेका छन् । उनी दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी पनि हुन् । तत्कालीन दरबारको भान्से रहेका उनी पछिल्लो समय राहदानी विभागमा सरुवा भएका थिए । विभागमा रहँदा १७ बंगलादेशी नागरिकलाई नेपाली राहदानी वितरण गरेको अभियोगमा उनी पक्राउ परे । अदालतमा मुद्दा पनि खेपे । यही क्रममा उनको सरुवा सिंहदरबारस्थित योजना आयोगमा भयो । मुद्दाकै कारण तनावमा रहेका उनको परिवारसँग पनि मेल थिएन । तनावकै बीच उनले आत्महत्या गरे ।

घटना ४ : महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी जवान २६ वर्षीय शंकरसिंह ठगुन्नाले १ भदौमा आत्महत्या गरे । दार्चुला घर भएका उनी एक युवतीको कोठामा झुन्डिएको अवस्थामा फेला परे । उनले परिवारबाट टाढा रहेको, आर्थिक अवस्था सुधार नभएकोजस्ता गुनासा लामो समयदेखि सहकर्मीसँग गर्ने गरेका थिए ।

पछिल्लो तीन सातामा सरकारका चार कर्मचारीले आत्महत्या गरेका छन् । निजामती सेवाका तीन नायब सुब्बा र एक नेपाल प्रहरीका जवान छन् । एक सुब्बा र प्रहरी जवान बहालवाला हुन् । जसमध्ये दुई सुब्बा अवकाशप्राप्त हुन्, एक भने बहालवाला । तर, तीनैजना भ्रष्टाचार मुद्दामा मुछिएका देखिन्छन् ।

आत्महत्याका चारवटा घटनाको प्रकृृति फरक–फरक छ । तर, पृष्ठभूमिमा यसको लहरो अर्थ, समाज र परिवारसँग जोडिएको देखिन्छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले नेपाल सरकारका अधिकांश कर्मचारी कुनै न कुनै प्रकारको डिप्रेसनमा गुज्रिएको बताए । त्यसमध्ये पनि मध्यमस्तरका कर्मचारी बढी पीडित रहेको उनको भनाइ छ ।

‘हामीकहाँ सम्पूर्ण कर्मचारीलाई एउटै डालोमा राखेर हेर्ने चलन छ । उनीहरूको आर्थिक, सामाजिक र पारिवारिक अवस्थाको कहिल्यै अध्ययन भएन,’ पूर्वसचिव त्रितालले भने, ‘भारतकै उदाहरण हेरौँ, बेलायतबाट स्वतन्त्र हुनासाथ भारत सरकारले कर्मचारीको वृद्धिविकास अध्ययन गर्न तलब आयोग बनायो, अहिले पनि कायम छ । यसले सम्पूर्ण भारतीय कर्मचारीको विविध पक्षको अध्ययन गर्छ । सोही आधारमा सेवासुविधा तोकिन्छ । जसले कर्मचारीलाई मोटिभेसन दिन्छ । तर, नेपालमा यस्तो प्रणालीको विकास नै भएको छैन । यसैका परिणाम अहिले देखिन्छ ।’

तीनकुनेमा मनोपरामर्श दिने ‘ह्याप्पी क्लब’ सञ्चालन गर्दै आएका मनोविश्लेषक वासु आचार्य आफूकहाँ परामर्श लिन आउने सेवाग्राहीमध्ये २० प्रतिशत सरकारी कर्मचारी रहेको बताउँछन् । त्यसमध्ये पनि अधिकांश मध्यमस्तरका कर्मचारी धेरै रहेकोे बताए । ‘मैले केही वर्षदेखि मनोपरामर्श क्लिनिक चलाउँदै आएको छु । मकहाँ अनेक क्षेत्रका सेवाग्राही आउँछन् । त्यसमध्ये २० प्रतिशत सरकारी कर्मचारी छन् ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नेपाल प्रहरीका कर्मचारीमा पनि कुनै न कुनै प्रकारको डिप्रेसन रहेको बताए । लामो अवधि परिवारसँग अलग रहने, मानसिक, आर्थिक, सामाजिक तथा शारीरिक आवश्यकता पूरा गर्न नसक्ने र कामको अत्यधिक चाप डिप्रेसनको मुख्य कारण रहेको उनको बुझाइ छ ।

‘प्रत्येक मानिससँग फरक–फरक मनोकांक्षा हुन्छ । सबैका मनोकांक्षा पूरा हुन्छ भन्ने छैन । जसको पूरा हुँदैन, उसले पीडा महसुस गर्छ । पीडा व्यवस्थापन गर्न सकियो भने ठीक ठाउँमा आउँछ । नसक्दा थिग्रिँदै जान्छ । त्यसले आत्महत्याको परिणाम निम्त्याउँछ,’ डिआइजी पोखरेल भन्छन्, ‘नेपाल प्रहरीका कर्मचारीमा पनि केही न केही डिप्रेसन छ । त्यसमध्ये कामको ओभरडोज पनि कारण हो । पारिवारसँग लामो समय अलग बस्नुपर्ने बाध्यता पनि अर्को कारण हो ।’

सेनाका कर्मचारीमा पनि डिप्रेसन 
सैनिक स्रोतका अनुसार नेपाली सेनाका कर्मचारी झन् ठूलो डिप्रेसनबाट गुज्रिएका छन् । तर, उनीहरूका पीडा कमै सार्वजनिक हुन्छन् । डिप्रेसनमा गएपछि नेपाल प्रहरीका कर्मचारीलाई अस्पताल गएर उपचार गर्न छुट छ । तर, नेपाली सेनामा त्यो पनि छुट छैन । किनभने डिप्रेसनको औषधि सेवन गर्ने नेपाली सेनाका कर्मचारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान अयोग्य हुन्छन् । सोही कारण उनीहरू वर्षौँदेखि पीडा दबाएर बस्न बाध्य हुन्छन् । आजको नयाँ पत्रिका दैनिकबाट हामिले समाचार साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*