‘डार्क सर्कल’को कारण र उपचार

निद्राको कमी, अस्वस्थकर खानपान, वंशानुगत कारणलगायत डार्क सर्कल निम्तिनुका धेरै कारण छन् । लामो समयसम्म औषधिको सेवन, एलर्जी, प्रदूषण, लामो समयसम्म ग्याजेट चलाउने गर्नाले पनि डार्क सर्कल देखिने गर्छ ।
– घाममा धेरै हिँड्नाले पनि डार्क सर्कल देखिन्छ । सुत्केरी अवस्थामा पनि देखिन्छ । यो कुनै गम्भीर समस्या नभए पनि मानिसलाई यसले निराश बनाउँछ ।
– औषधिको प्रयोग, केमिकल पिमिलिङ गर्ने र लेजर गरी तीन तरिकाबाट यसको उपचार गर्न सकिन्छ । डार्क सर्कल हुनबाट बच्नका लागि हामीले केही सावधानी अपनाउनुपर्ने हुन्छ ।
– भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालालाई रिपेयर गर्न र टाइट गर्न सहयोग गर्छ । पानी प्रशस्तै पिउनुपर्छ । कागती, सुन्तलालगायत भिटामिन ‘सी’युक्त फलफूलले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछन् । जसकारण, राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले पनि डार्क सर्कल कम गर्छ ।
– काँक्रो काटेर माथिको भाग आँखामा राख्दा केही हदसम्म यसलाई कम गर्न सकिन्छ । आँखावरपर काँचो आलुले मसाज गर्दा पनि कम हुँदै जान्छ ।
– आँखालाई प्रदूषणबाट बचाउनका लागि बाहिर निस्कँदा सनग्लास प्रयोग गर्न सकिन्छ ।
– चिकित्सकसँग परामर्श नगरी डार्क सर्कल जान्छ भनेर अनावश्यक क्रिमको प्रयोग गर्नुहुँदैन । यसले समस्यालाई उल्टै बढाइदिन पनि सक्छ ।