म्याद थपिएपछि रविका वकिलले भने : अदालतले ठीक निर्णय गरेन

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीनजनालाई म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन्। उनले हिरासतमा राख्नुपर्ने कारण नभए पनि अदालतबाट म्याद थप गरिएको बताएका छन्। रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी आरोपीको तर्फबाट अनुसन्धानमा समस्या नहुने भए पनि म्याद थप गरिएको बताएका हुन्। अदालतको निर्णयमा असन्तुष्टि जनाएका उनले यसरी म्याद थप गरिएकोमा आश्चर्य व्यक्त गरे। उनका अनुसार सिसी क्यामेरा फुटेज र भिसेरा रिपोर्टबारेमा अनुसन्धान गर्नुपर्ने भएकाले बादीकातर्फबाट १० दिनको समय माग गरिएको थियो । रविका कारण थप अनुसन्धानमा अफ्ठ्यारो नआउने स्पष्ट देखिए पनि म्याद थपिएको भन्दै उनले गुनासो गरे। पन्तले आरोपीले अनुसन्धानलाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नसक्ने अवस्थाबारे बहस गरे पनि ५ दिन म्याद थप गरिएको बताए । बादीका तर्फबाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले र प्रतिवादीका तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गरेका थिए ।