रवि लामिछानेसहित ३ जनालाई फेरी थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

जनपत्र
३ भाद्र २०७६, मंगलवार १८:१९

चितवन  – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीकाे इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपको माग गर्दै तीनै जनालाई अदालत पेश गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको हो ।

अदालतमा लामिछानेको पक्षबाट बहस गरेका वकिलहरुले अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखिरहनुपर्ने कुनै पनि कारण नभएकाले रिहा गर्नु पर्ने माग गरेका थिए ।

लामिछानेलाई फेरि हिरासतमै राखिरहनु पर्ने कारण नदेखिएको र उनले दिएको बयानको कुन व्यहोराले म्याद थप गर्नु पर्ने देखिएको हो त्यो स्पष्ट नखुलेकाले अधिवक्ताहरुले प्रश्न गरेका थिए ।

रवि लामिछानेका तर्फबाट बहस गर्नु भएका अधिवक्ता सुशील पन्तले काम बाँकी छ भन्दैमा हिरासतमा राख्नु नपर्ने तर्क गर्नुभयो । उहाँले भिडियो कसले प्रसारण गरेको हो र त्यसको स्रोतमाथिकाे सत्यताका बारेमा पनि प्रश्न उठाउनुभयो । उहाँले यस घटनामा ‘फेअर जस्टिस र फेअर इन्भेस्टिगेसन’ हुनुपर्ने पनि बताउनुभयो ।

प्रहरीले भने केही प्रमाण संकलन भएको र केही नयाँ कुरा खुलेकाले अनुसन्धानका लागि अझै १० दिनको म्याद थप गर्न माग गरेको थियो । चितवनबाट राधेश्याम खतिवडाले उज्यालोका लागि लेख्नुभएको समाचार हामिले साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*