निर्माण नसकिँदै सडकमा चिरा

निर्माणाधीन लमही–कोइलाबासको जंगल क्षेत्रमा भर्खरै गरिएको कालोपत्र सडक चिराचिरा परेर फाटेको छ । केही दिन पहिलेको वर्षाले हुलाकी राजमार्गअन्तर्गत हालै निर्माण गरिएको कालोपत्र फाटेर सडक नै धस्सिएको हो ।
निर्माण नसकिँदै भत्किन थालेपछि स्थानीयले विरोध जनाएका छन् । स्थानीयवासी मेघबहादुर चौधरीले निर्माण व्यवसायीको कमसल कामका कारण यस्तो भएको आरोप लगाए । उनले सडक डिभिजन कार्यालयले निर्माणको क्रममा चासो दिएर अनुगमन नगर्दा कमजोर सडक बनेको बताए ।
लमही कोइलाबास सडकको कालोपत्रे गरिएको १४ किलोमिटरमध्ये जङ्गल क्षेत्रमा पर्ने ठूलीचौरबाट कोठरीसम्मको झण्डै चार किलोमिटरको विभिन्न भाग चिरा परेको हो । सडकको साँघुरो नाली पानीसँगै झरेको, ढुङ्गा तथा पात पतिङ्गरले पानी जमेर सडकबाटै बग्दा सडक भत्किएको निर्माण कम्पनी कुमार कालिका जेभिका प्रतिनिधि मुकेशकुमार शाहले बताए ।