दैलेख : बाँदर र बँदेल धपाउन बारीमै जागराम, बाली जोगाउनै मुस्किल

जनपत्र
२८ श्रावण २०८०, आईतवार ०७:५४

दैलेख – भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभइ गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् ।

केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरु हैरान भएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा किसान छन् ।

‘जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौँ,  वर्षमा छ महिना खान पुग्ने खेती बाँदर/बँदेलले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने भएको छ’, जैसीले भन्नुभयो ।

भैरवी गाउँपालिकामा मात्र नभइ बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकैखेती नष्ट पार्ने गरेकाे छ । कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ पालिकामा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभइ अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको देखिन्छ ।

कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका सबै पालिकाका ९० वडामा २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएका बताउनुभयो । उहाँले पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको बताउनुभयो ।

उहाँले किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताउनुभयो । ‘अहिले मकैखेतीको समय हो, बँदेल र बाँदरले मकैखेतीमा क्षति पुर्याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यहीअनुसारको छ’, पाण्डेले भन्नुभयो ।

उहाँले किसानको कति मकैखेतीमा जङ्गली जनावरले क्षति पुर्यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले सङ्कलन गरेको भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहतभन्दा पनि अनुदान दिने गर्दछ ।’

भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पुर्याएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिएको बताउनुभयो ।

‘मकैबालीमा बँदेल र बाँदरले पुर्याएको क्षतिको विवरण सङ्कलनलाई तीव्रता दिएका छौँ, अहिलेसम्म गाउँपालिका–१, २, ३, ४, ५ वडामा बढी मात्रमा क्षति पुगेको पाएका छौँ, गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन, जङ्गली जनावरको नियन्त्रणतर्फ तीनै तहका सरकार लागिपर्नुपर्ने देखिन्छ’, शाखा प्रमुख भट्टराईले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*