मकवानपुरमा पहिरोले बगाएका बाबु छोरी मृत अवस्थामा फेला, अरु तीन जना अझै बेपत्ता

जनपत्र
२४ श्रावण २०८०, बुधबार १६:४०

हेटौंडा । मकवानपुरमा पहिरोले बगाएका बाबु छोरी मृत अवस्थामा फेला परेका छन् । अरु तीन जना अझै बेपत्ता भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानको पहिरोमा परी बेपत्ता भएका मध्ये बाबुछोरीको शव भेटिएको छ ६० बर्षीय अक्कल बहादुर स्याङ्तान र उनको छोरी २२ बर्षीया शिला पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार खोजी कार्यमा संलग्न सुरक्षाकर्मीको टोलीले बुधबार बिहान ९ बजेर १० मिनेटमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं.१ को करेस्थित बागमती नदिको बिच बगरमा बाबुछोरीको शव भेटिएको हो ।

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रेदोभानस्थित मृतक अक्कल बहादुर स्याङ्तानलाई पहिरोले बगाएको थियो । उक्त पहिरोमा एकै परिवारका ६ र पाहुँना लाग्न आएक १ गरी ७ जना परेका थिए ।

अक्कल बहादुरको श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तानको पहिरोमा परेको केही बेरमै उद्धार गरिएपनि बचाउन भने सकिएन । चिन्ताजनक अवस्थामा उद्धार गरिएको उनको स्थानिय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै सोही पहिरोमा परी बेपत्ता भएका सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं.१ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार साँझ ७ बजे बागमती खोलाको किनारबाट प्रहरीले जिवितै उद्धार गरेको थियो । खुट्टामा समस्या देखिएको घिसिङलाई मंगलबार नै उपचारको लागि हेटौंडा ल्याईएको थियो । घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।

अझै अक्कल बहदुरका ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी र नातिनी डेढ बर्षीय दिब्या पहरी बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी निरीक्षक विक्रम मगरको कमाण्डमा करिब ३५ जना प्रहरी परिचालन गरिएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*