फुटपाथबाट विस्थापित हुँदै व्यापारी

जनपत्र
२४ श्रावण २०८०, बुधबार १०:४९

धादिङ सिद्धलेक गाउँपालिकाकी शान्ति विश्वकर्मा शारीरिकरुपमा अशक्त हुनुहुन्छ । राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न । उहाँ नयाँ बसपार्क क्षेत्रमा थर्मसमा चिया व्यापार गर्नुहुन्थ्यो पाँच/छ महिना अघिसम्म । यसबीचमा धेरै पटक नगरप्रहरीले उहाँको थर्मस लिएर गयो । धरपकड गर्यो । उहाँलाई पनि लगेर थुन्यो ।

‘उसै त बाटोमा हिँड्न नसक्ने, शरीरको भर छैन । दुःख सुख गरेर तीन/चार भाँडो चिया बेच्दै हिँड्थे । तीन/चार पटक प्रहरीको केस पर्यो । लगेर थुन्यो । राति आठ/नौ बजे पनि लगेर थुन्यो,’ उहाँ भन्नुहुन्छ, ‘दिनको उज्यालोमा नगरपालिका । राति पनि प्रहरी । ठूलो/ठूलो लगानी लगाएर गरौँ भने गर्न सकिँदैन ।’

खुट्टाको भर नभएको उहाँको छ महिना अगाडि तातोपानीले हात पोल्यो । त्यसयता केही काम गर्नु भएको छैन । आफूजस्तै केटाकेटीले दुःख नपाउन्, बाटोमा कुद्न नपरोस भन्ने उहाँको चाहना छ । तर, त्यसको लागि के गर्ने भन्ने विकल्प भने छैन । सडक व्यापारले केही विकल्प दिएको थियो । तर, अहिले त्यो पनि छैन ।

उहाँ भन्नुहुन्छ, ‘छोराछोरीलाई दुई/चार अक्षर पढाएर हामी जस्तै सडकमा कुद्न नपरोस् भनेरै फुटपाथमा चिया बेचेर हिँडेको । त्यो पनि भएन । शरीरले पनि दिएन । हामी जस्तालाई त सरकारले केही हेर्नुपर्ने हो ।’

दोलखाको गौरीशंकर गाउँपालिका–१ की रिता केसी पनि नयाँ बसपार्क क्षेत्रमा फुटपाथमा व्यापार गर्नुहुन्छ । उहाँको पनि नगर प्रहरीले धेरै पटक सामान लगिसके । नगर प्रहरीले सामान लगिसकेपछि फिर्ता गर्दैनन्।

उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौमा बाँच्न धेरै गाह्रो छ । फुटपाथमा सामान राख्दा नगरपालिकाले लगिरहन्छ । यसो शटरको छेउतिर कुनामा बस्यो भने आएर लान्छन् । शटरवालाले पनि बस्न दिँदैनन् ।’

उहाँका अनुसार अहिले बेलुकी साढे सात बजेपछि भने पसल राख्न दिन्छ । पसल मिलाउँदै गर्दा आठ बज्छ । अनि राति आठ बजेपछि खासै मान्छे आउँदैनन् । व्यापार हुँदैन ।

उहाँ भन्नुहुन्छ, ‘बेलुका साढे सात बजे राख्न पाइन्छ । पसल लगाउँदा आठ बज्छ । राति नै बजेदेखि प्रहरी आउँछ । यो एक/डेढ घण्टाले खासै काम पनि छैन । कमाइ पनि छैन ।’

कमाइ नभएपछि उहाँले छोरालाई बोर्डिङ स्कुलबाट सरकारीमा सार्नु भएको छ । त्यहाँ मासिक शुल्क लाग्दैन । तर, भर्ना तथा परीक्षा शुल्क तिनुपर्छ । उहाँको श्रीमान इन्टरनेटको अफिसमा काम गर्नुहुन्छ । यसैले केही खर्च धानेको छ । उहाँको व्यापारले पनि केही खर्च चलेको छ । नगर प्रहरीले करिब तीन महिना अगाडि उहाँको सामान लग्यो । तर, फिर्ता दिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*