ग्यासको खपत घट्दै, विद्युत्को माग बढ्दै, त्यसले नेपाललाई हुनसक्ने फाइदा के?
नेपालमा पछिल्लो समय खाना पकाउने ग्यासको आयातमा केही कमी आइरहेको र विद्युत्को माग बढिरहेको देखिएको अधिकारीहरूले बताएका छन्।
नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूका भनाइमा त्यसको एउटा कारण “खाना पकाउन पनि बिजुलीको प्रयोग हुन थाल्नु” रहेको हुनसक्छ।
यद्यपि त्यसको कारणबारे यकिन गर्न अध्ययन नै गर्नुपर्ने उनीहरूको भनाइ छ।
आयात गर्नुपर्ने ग्यासको माग कम हुनु र नेपालमै प्रचुर मात्रामा उत्पादन हुनसक्ने विद्युत्को खपत बढ्नु देशको अर्थतन्त्रका लागि सकारात्मक कुरा भएको कतिपय जानकारहरू बताउँछन्।
ग्यास आयात कम हुनुको सम्भावित कारण
नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पछिल्लो समय ग्यासको आयात कम्तीमा पाँच प्रतिशतले कम भएको छ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका अधिकारीहरूका अनुसार विद्युत्को खपत पनि पाँचदेखि आठ प्रतिशतसम्म बढेको छ।
त्यसमा पछिल्ला वर्षहरूमा खाना पकाउनका लागि समेत बिजुली प्रयोग गर्न प्रोत्साहन गर्ने विद्युत् प्राधिकरणको नीति र त्यस अनुसारको प्रचारप्रसारले भूमिका खेलेको हुनसक्ने प्राधिकरणका अधिकारीको भनाइ छ।
घरायसी प्रयोजनको ग्यास सहुलियत दरमा
खाना पकाउने ग्यास र बिजुलीबाट धेरैजसो आगलागीको खतरा हुने गर्छ
निगमका अधिकारीहरू पनि विशेषगरी सहरी क्षेत्रमा खाना पकाउन बिजुलीको प्रयोग बढेकाले ग्यास आयात कम भएको हुनसक्ने बताउँछन्।
त्यसका साथसाथै पेट्रोलियम पदार्थको भाउ उच्च भएर विद्युतीय सवारीसाधनतर्फ धेरैको ध्यान जानु पनि अर्को कारण हुनसक्ने कार्कीको भनाइ छ।
पछिल्ला वर्षहरूमा ग्यासबाट चल्ने टेम्पोहरू विद्युतीयमा रूपान्तरण हुदैँ गएका छन्।
त्यसको पनि केही असर देखिएको हुनसक्ने निगमका अधिकारीको भनाइ छ।बिबिसी नेपालीबाट साभार ।







