सासू र श्रीमतीमाथि खुकुरी प्रहार

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:४९

जिल्लाको कुम्मायक गाउँपालिका १ यासोक पेन्धारेमा एक युवकले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। शुक्रबार बिहान साढे ९ बजेतिर २८ वर्षीय जीवन दर्नालले मादक पदार्थ सेवन गरेर सासू ५० वर्षीया भीमकला दर्जी र उनकै श्रीमती १९ वर्षीया सीता दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
घाइते भएकामध्ये भीमकलाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ। सीताको भने सदरमुकाम फिदिमस्थित जिल्ला अस्पतालमै उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने दर्नाल भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए।
१८ वर्षकै उमेरमा सीताको जीवनसँग बिहे भयो। ललाई फकाई गत वर्ष सीतासँग बिहे गरेका जीवनको घरमा अर्की श्रीमती पनि थिइन्। घरमा पुग्दा दोश्रो बिबाह भएको थाहा पाएपछि सीता भने माइतीघर फर्किन्। अनि आमा भीमकलासँगै बसिन्। यसले गर्दा जीवन र सीताबीच खट्पट् सुरु भयो।  सीताका अनुसार आफूलाई पटक पटक घरमा जान भने पनि आफूले फोन कुराकानीमा अस्वीकार गरेको बताइन्। सोही निहुँमा खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरेको अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*