सरकारसँग सहमति भए पनि आन्दोलन टुङ्गिएको छैन : सहकारीपीडित

जनपत्र
२१ श्रावण २०८०, आईतवार १२:४०

बिहीवार दिउँसो सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । बेलुकी करिब सात बजेतिर भने सरकार र पीडितपक्षबीच सात बुँदे सहमति भयो । सहमतिको सातौँ बुँदामा सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा भइरहेको अनशन/धर्ना स्थगित गर्ने भनेर लेखिएको छ ।

तर केही सहकारीपीडितहरु शुक्रवार पनि माइतीघरमा थिए । त्यही भिडमा हुनुहुन्थ्यो, यमबहादुर विष्ट । उहाँ सरकार र सहकारी पीडितबीच भएको सहमतिका कारण केही उत्साहित हुनुहुन्छ । तर, मनभरी शङ्का र द्विविधा पनि त्यत्तिकै छ । त्यसकारण उहाँ यो सहमतिले खुशी हुन पनि सक्नु भएको छैन, दुःख हुन पनि परिस्थितिले दिएको छैन ।

यो सबैको पछाडि उहाँको सहकारीमा फसेको सामान्य मान्छेको कल्पना बाहिरको रकम हो । गुडविल बचत तथा ऋण सहकारीमा उहाँको ११ करोड रुपैयाँ फसेको छ । जग्गा बेचेर राखेको यही पैसाका कारण अहिले उहाँको परिवारसँग राम्रो सम्बन्ध छैन । यही पैसा उठ्छ कि भनेर उहाँ भक्तपुर सूर्यविनायक नगरपालिका–३ बाट माइतीघर आउनु भएको छ ।

अहिले उहाँको आम्दानीको स्रोत भनेकै सरकारले दिने ज्येष्ठ नागरिक भत्ता हो । ‘यसैले जीवन चलिरहेको छ,’ ७० वर्षीय विष्ट भन्नुहुन्छ, ‘पैतृक सम्पत्ति बेचेर खातामा ११ करोड राखेको । साँवाब्याज जोड्ने हो भने १५ करोड जति हुन्छ ।’

उहाँले यो रकम २०७७ साल पुसमा राख्नुभएको हो । २०७८ फागुनमा सहकारीले पैसा दिने कुरा थियो । मुद्दतिमा राखिएको रकमको ब्याज १६ प्रतिशत दिने तय भएको थियो । फागुन १५ मा दिने तय भएको रकम त्यस दिन नगएर उहाँ भोलिपल्ट जानुभयो । तर, सहकारी सबै अस्तव्यस्त थियो । उहाँलाई अझै आफ्नो पैसा पाइन्छ भन्ने ढुक्क थियो । त्यो बेलामा लकडाउन भएका कारण व्यवहार बिग्रिएकोले यस्तो भएको हुनसक्छ भन्ने उहाँलाई लागेको थियो ।

धेरैले उहाँलाई त्यत्रो पैसा सहकारीमा किन राखेको भनेर प्रश्न गर्छन् । तर, सञ्चालक दिवाकर श्रेष्ठको घरमा १८ वर्षमा भाडामा बसेको र सानैदेखि देखेका कारण यस्तो बदमासी गर्दैन भनेर आफूले पैसा राखेको विष्ट बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*