ज्याला वृद्धिको माग गर्दै झापाका चिया श्रमिकद्वारा प्रदर्शन
झापा – झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शन गरेका छन् । चिया मजदुर आबद्ध सङ्गठनले यस्ताे माथ राख्दै आज काँकडभिट्टामा प्रदर्शनसमेत गरेका छन् ।
श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ती डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो । तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको उहाँको भनाइ थियो । श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक पाँच सय ७७ रुपैयाँ ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले चार सय ३७ रुपैयाँ मात्र पाउँदै आएको उपाध्यक्ष राईले बताउनुभयो ।
‘सरकारले तोकेको दैनिक ज्याला र सुविधा नपाउँदा चिया मजदुर भोकै पर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो । बीस वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ । दिनानुदिन महँगी बढिरहेको हुँदा त्यही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग छ ।
झापामा एक सय ३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन् । जिल्लामा १० हजार हेक्टरमा चिया खेती हुने गरेको तथ्याङ्क छ ।







