बागमती प्रदेशको १३ वटै जिल्लाका यातायात कार्यालयहरु भाडाको घरमा, भवन निर्माणका लागि एक करोड

जनपत्र
२१ श्रावण २०८०, आईतवार ०९:०६

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तरगतका यातायात व्यवस्था कार्यालयहरु भाडाको घरमा सञ्चालन भइरहेका छन् । प्रदेशको १३ वटा जिल्लामा रहेका १५ वटा कार्यालयहरु मध्य दुइ वटा कार्यालय मात्र सरकारी भवनमा रहेका र अरु १३ वटा कार्यालयहरु भाडाको घरमा सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंसालले जनपत्रलाई जानकारी दिनुभयो ।

मन्त्रालय अन्तरगतको कार्यालय मध्य यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आफ्नै भवनमा रहेको छ तर, काठमाण्डौं उपत्यका भित्रका अरु चार वटा कार्यालयहरु भाडाको घरमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यता चितवनको यातायात व्यवस्था कार्यालय भवन अर्काको सरकारी कार्यालयमा राखिएको र अरु सबै जिल्लाका कार्यालयहरु, ट्रायल सेन्टरहरु अरुको भरमा सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको मन्त्री लंसालले बताउनुभयो ।

अधिकांस कार्यालयका भवन छैनन् र जग्गा प्राप्ती गर्नका लागि धेरै लामो समस्या भएका कारण पनि भवन निर्माण गर्न नसकिएको हो । चालु आर्थिक वर्षमा भवन नभएका यातायात व्यवस्था कार्यालयहरुमध्य एउटा भवन निर्माण गर्ने तयारी भएको मन्त्री लंसालले जनपत्रलाई जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा यातायात व्यवस्था कार्यालय काठमाण्डौंको गुर्जुधारमा भवन निर्माण गर्नका लागि २७ रोपनी जग्गा प्राप्तीको चरणमा रहेको बताउँदै उहाँले भन्नुभयो–‘प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा धेरै यातायात व्यवस्था कार्यालयहरु भाडाको घरमा सञ्चालन भइरहेका छन् । यस वर्ष एउटा भवन निर्माणका लागि संघीय सरकारसंग रहेको २७ रोपनी जग्गा प्राप्ती गर्नका लागि प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेर पठाएको छ र यो जग्गा प्रप्ती भएपछी भवन निर्माण गर्ने तयारी गरेका छौं ।’
काठमाण्डौं उपत्यकामा मात्र पाँच वटा कार्यालय भवन मध्य एउटा भवनका लागि जग्गा प्राप्ती भएमा यस वर्ष निर्माण गरिने र त्यसका लागि एक करोड रुपैयाँ बजेट मन्त्रालयले छुट्याएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*