तौल घटाउन सबैलाई एउटै विधिले हुँदैन

जनपत्र
२१ श्रावण २०८०, आईतवार ०८:०३

अहिले खानपान र विलासी जीवनशैलीका कारण मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गएको छ । मोटोपनलाई रोगको घरसमेत मानिन्छ । जसकारण धेरैजसोले शरीरको तौल घटाउन अनेक उपाय अपनाइरहेका हुन्छन् । तर पनि वजन घट्दै नघट्दा भने टाउको दुखाइको विषय बनिरहेको हुन्छ ।

तौल घटाउन किटो डाइट, वाटर फास्टिङ, इन्टरमिटेन्ट फास्टिङ जस्ता विधि छन् । यी विधि सबैको लागि अनुकूल नहुन सक्छ । किनकि सबैको तौल बढ्न कारण एउटै हुँदैन । कारण पत्ता नलगाई देखासिकी गर्दा मोटोपन घटाउने अनके विधि अपनाउँदा सन्तुलन नमिलेर अन्य स्वास्थ्य समस्या देखिन सक्ने विज्ञहरु बताउँछन् ।

बढ्दो देखासिकीले अन्धाधुन्ध तौल घटाउने विधि अपनाउँदा चाहेअनुरुप शरीर नबन्ने फिटनेस ट्रेनर विप्लव कार्की बताउँछन् । ‘सबैको खानपान, जीवनशैली फरक छ । जसकारण सबैलाई एकै विधि लागू हुँदैन । कुन व्यक्तिलाई मोटोपन घटाउन कस्तो विधि प्रभावकारी हुन्छ भन्ने कुरा व्यक्ति अनुसार फरक हुन्छ,’ उनी भन्छन् ।

मोटोपन बढ्दै जानुको पछाडि कारण के छ भन्ने जानकारी नहुँदा र त्यही अनुसारको विधि फलो नगर्दा मोटोपन चाहे अनुरुप तौल नघट्न सक्छ । चल्तीमा रहेका अनेकौं विधि अपनाएर तौल घटाउनेमा पनि घटेपछि ह्वात्तै बढ्ने र नखाँदा एक्कासि बढेको देखिन्छ । यस्ता विधिले क्षणिक समयको लागि मात्र समाधान गर्ने कार्की बताउँछन् ।

यता, मोटोपन घटाउन चाहने तर धैर्यता नहुँदा छोटो विधि तर अग्रसर हुने जमात ठूलो रहेको आहारविद् राजु अधिकारी बताउँछन् । तौल घटाउनका लागि आजको भोलि सम्भव नहुने र यसका लागि लामो समय लाग्ने उनी बताउँछन् ।

‘तौल घटाउनको लागि जीवनशैली र खानपानमा ध्यान दिनु जरुरी छ । यो नै सर्वयोग्य सूत्र हो । तर संयमता हुनु पर्‍यो, ‘उनी भन्छन्, ‘तौल घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन । खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुन सक्छ ।’

हेर्दा तौल बढी देखिने सबै व्यक्ति रोगको जोखिममा नहुन पनि सक्ने अधिकारी बताउँछन् । ‘कोही व्यक्तिको शरीर नै अलि मोटो भए पनि स्फूर्ति उत्तिकै हुन्छ । खानपानदेखि शारीरिक गतिविधिमा पनि सरिक छ भने रोग लाग्ने जोखिम नहुन सक्छ, ’अधिकारी भन्छन्, ‘स्वास्थ्यमा समस्या नभए पनि कालान्तरमा समस्या देखिने जोखिम हुन सक्ने हुँदा वर्षमा एक पटक स्वास्थ्यका आधारभूत चेकअप गराउनु उचित हुन्छ ।’

मोटोपन हुनुका मुख्य कारण

हार्डवर्ड विश्वविद्यालयका अनुसार आधुनिकीकरणसँगै अहिलेका बालबालिकाको रुचि स्वस्थ खानाभन्दा अस्वस्थ्यकर खानेकुरा र शारीरिक गतिविधि भन्दा बढी आरामदायी गतिविधिमा भएकाले मोटोपन बढिरहेको हो ।

सबैभन्दा पहिलो प्राथमिकता र सबैको लागि सुहाउने भनेको मोटोपन लाग्ने स–साना कारण पत्ता लगाउनु रहेको फिटनेस ट्रेनर कार्की बताउँछन् । उनका अनुसार मोटोपन बढ्ने कारण भनेको थोरै कसरत गर्न पनि मन नगर्नु हो । ‘अल्छी, ढिला उठ्ने, सुत्ने, भर्‍याङको सट्टा लिफ्ट चढ्ने, छोटो दूरीसम्म जान पनि बाइक, स्कुटरको प्रयोग गर्नु, घरको खानेकुरा भन्दा बाहिरको खानेकुरामा रुचि हुनु, सानैबेलादेखि हृष्टपुष्ट देखिनुपर्छ भन्दै अत्याधिक खानपिन गर्ने बानी बसाल्नु लगायतका स–साना तर बेवास्ता गरेका कुरा मोटोपनका कारण हुन्,’ उनी भन्छन् ।

तौल नियन्त्रण किन महत्त्वपूर्ण ?

विभिन्न अध्ययन र अनुसन्धानलाई आधार मानेर हार्डवर्डले प्रकाशित गरेको एक जर्नलअनुसार बढिरहेको तौल नियन्त्रण गर्नु भनेको रोगलाई शरीरमा लाग्न नदिनु हो । किनभने तौल आवश्यक भन्दा बढी भएमा मेटाबोलिक सिन्ड्रोम, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुरोग, तागत नहुनु, पित्तथैली रोग, कलेजो रोग र क्यान्सर जस्ता धेरै रोगको जोखिम हुन सक्छ ।

यसलाई न्यूनीकरण गर्न बालबालिका मात्र नभई अभिभावकले पनि शारीरिक व्यायाम, तनाव कम लिने, मोबाइल, टिभी जस्ता स्क्रिनमा धेरै समय नबस्ने, उचित निद्रा लिनु उत्तम विकल्प भएको विश्वविद्यालयले जनाएको छ ।

सन्तुलित भोजन र शारीरिक गतिविधि

शारीरिक गतिविधिसँगै खानपानमा ध्यान दिने हो भने वजन नियन्त्रण हुँदै आउँछ । सन्तुलित भोजन अर्थात् ब्यालेन्स डाइट गर्न सकियो भने वजन बढ्न पाउँदैन शरीर स्वस्थ पनि रहने कार्की बताउँछन् ।

कार्कीका अनुसार दैनिक खानामा थोरै भात, अण्डा, दाल, मौसमी तरकारी, खाजाको लागि फलफूल, बदाम जस्ता ड्राइफ्रुट्स खाने, दिनको चारदेखि पाँच लिटर पानी खाने, पर्याप्त निद्रा लिने, बिहानको समयमा घरमै सकेको व्यायाम गर्ने, सम्भव भए हिंडडुललाई प्राथमिकता दिने लगायत कार्यले अनावश्यक वजनलाई नियन्त्रण गर्छ ।

दीर्घरोग भएका व्यक्तिले चिकित्सकको सल्लाहमा व्यायाम गर्ने र सोही अनुसारको खानपान गर्न कार्की सुझाउँछन् । बिहान नियमित रुपमा करिब आधा घण्टा मर्निक वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखापर्ने अधिकारी बताउँछन् । ‘मर्निङवाक गरेमा शरीरमा रक्तसञ्चार प्रभावकारी ढंगले हुन्छ । शरीर फूर्तिलो रहनुका साथै मुटु स्वस्थ रहन्छ । त्यति मात्र होइन, नियमित रुपमा हिंडेमा शरीरको बोसो कम भएर तौल स्वतस् कम हुँदै जान्छ, ’ उनी भन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*