कीर्तिमानी पर्वतारोही हरिला र तेन्जेनलाई त्रिभुवन विमानस्थलमा स्वागत

जनपत्र
२० श्रावण २०८०, शनिबार ११:१९

काठमाण्डाै – तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नर्वेकी क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले गएको साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उहाँहरुलाई आज बिहान विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्वागत गर्नुभयो ।

कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरेका हुन् । पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहणसँगै हरिला र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो ।

यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा आरोहण गर्नुभएको थियो ।  हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो ।  हरिला र तेन्जेनले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*