दोलखामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुग्यो
काठमाण्डाै – दोलखामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति गएको पहिरोमा परि देविमाया मगर र तीन वर्षका बालक प्रिन्स थामीको ज्यान गएको हो ।
बेपत्ता भएका अरु दुई जना हरिलाल श्रेष्ठ र कृष्णबहादुर मगरको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिरोमा परेर घाइते भएका तीन जनामध्ये गम्भीर अवस्थामा रहेका दुई जनाकाे काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । पहिरोले पाँचवटा घर बगाएको छ ।
यसैबीच गौरीशङ्कर गाउँपालिका–७ मा गएको पहिरो वडा नं ८ मा पुग्दा ६२ वटा बाख्रा र एउटा राँगो पुरिएको स्थानीयले बताएका छन् । पहिरो गएको ठाउँमा सम्पर्क पनि नभएकाले विस्तृत जानकारी आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । उहाँका अनुसार पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध पारेको छ ।
पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ । सडक तथा पुलमा बाढीले क्षति पुर्याएका कारण उद्धारमा कठिनाइ भइरहेको अधिकारी धमलाले बताउनुभयो ।







