तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाकाे आग्रह

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:२७

नेपालमा तीन दिनसम्म मनसुनी वर्षा भइरहन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले त्यसको प्रभावले मनसुन सक्रिय रहने अनुमान गरिएको छ ।

महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*