म्याग्दीमा ८० प्रतिशत मात्रै धान रोपाइँ

जनपत्र
१६ श्रावण २०८०, मंगलवार १३:४५

म्याग्दी – यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा र गोरुमा लम्पीस्किन रोग लागेका कारण म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रकोप फैलिएपछि साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाभर जम्मा ८० प्रतिशत खेतमा मात्रै धान रोपाइँ गरिएको हो ।

यसपटक समयमै किसानहरुले रोपाइँ गर्नका लागि पर्याप्त पानी नपर्नु, सिँचाइ सुविधाको उपलब्धता नहुनु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुनु र गोरुमा लम्पीस्किन रोग लागेको कारणले गर्दा रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । समयमै धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने भएकाले किसानहरु भने चिन्तित बनेका छन् । रोपाइँका लागि खासगरी जेठ र असार महिना उपयुक्त मानिन्छ । असारपछि रोपाइँ गरिए पनि उत्पादनमा भने कमी आउने किसानसँग अनुभव छ ।

साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाको बेनी नगरपालिका क्षेत्रमा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ भने मंगला गाउँपालिकामा ९० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताउनुभयो । यसैगरी अन्नपूर्ण गाउँपालिकामा ९५ प्रतिशत, रघुगङ्गामा ८५ प्रतिशत, मालिकामा ९० र धवलागिरि गाउँपालिकामा ९५ प्रतिशत धान रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा धेरै धान उत्पादन हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*